Skip This
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका ताप्लेजुङ
२o८१ चैत २६ मंगलबार १२:५८:oo
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार १२:५८:oo

जिल्ला सदरमुकाम फुङलिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्लाे र आकर्षक देखिन्छ– कञ्चनजंघा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखैअगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृंखलाका वरिपरि सयौँ सानाठुला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ ।

गत साता सार्फु– ४ पिकमा पहिलोपटक मानव पाइल पुग्न सफल भएको छ । चिलीका एक विदेशी नागरिक हर्नान लिल, पर्वतारोही लाक्पा छिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले ६ हजार ४३३ मिटर उचाइका सार्फु– ४ हिमालको पहिलोपटक आरोहण गर्न सफल भएका थिए । गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले ६ हजार ३२८ मिटर उचाइमा रहेको सार्फु– ५ पिक (हिमाली)को पहिलोपटक सफल आरोहण गरेका थिए ।

पर्वतारोही नादा शेर्पाको अगुवाइमा सार्फु–४ र सार्फु-५ पिकको सफल आरोहण भएको हो । सार्फु–१ देखि ६ वटा पिक रहेका छन् । तर, अन्य तीनवटा पिकमा भने आरोहण भएको छैन । अन्य पिकमा समेत आरोहणको तयारी भइरहेको पर्वतारोही शेर्पाले बताए । उनले भने, ‘काठमाडौं जानका लागि फुङलिङ आएको छु । काठमाडौंबाट अर्को पिक आरोहण गर्ने टोली लिएर आउनेछु ।’

जिल्लामा पर्वतारोण, साहसिक पर्यटकको सम्भावना रहेको शेर्पाले बताए । तर, सरकारले यस क्षेत्रमा चासो नदेखाएकामा दुःख लागेको उनले गुनासो गरे । ‘जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष पर्यटन प्रवर्द्धनको नाम मेला–महोत्सव आयोजना गरेर ठुलो धनराशि खर्च गर्दै आएको छ । तर, यस्ता खालका मेला महोत्वसवले अन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन हुँदैन ।’ विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कार्यक्रम गर्न आवश्यक रहेको शेर्पाले बताए । नेपाल पर्यटन बोर्डका अनुसार ताप्लेजुङमा पाँच हजारदेखि आठ हजार ५८६ मिटरसम्मका हिमाल–पिक ४८ वटा आरोहणका लागि खुला गरेको छ ।

फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगाेला क्षेत्रमा दुई र याङमा क्षेत्रमा चारवटा पिक आरोहणका लागि खुला गरिएको छ । पाँच हजार ७४० मिटरको लुम्बा सुम्बा पिक र ६ हजार पाँच सय मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्छ । यस्तै, याङमा क्षेत्रमा ६ हजार ५४७ मिटर उचाइको नांगामरी– १, ६ हजार २०९ मिटर उचाइका नांगामरी–२, ६ हजार ८३९ मिटरको उचाइकाे ओहोमी गांका र ६ हजार २४४ मिटरका पाबुक काङ (काङग्टा) पिक आरोहणका लागि सरकारले खुला गरेको छ ।

सिरिजंघा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । आठ हजार ५८६ मिटर उचाइको कञ्चनजंघा प्रमुख, आठ हजार ४७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजंघा, ६ हजार १४८ मिटर उचाइको कोक्थाङ पिक, ६ हजार ६८२ मिटरको रामथोङ पिक सरकारले आरोहणका लागि खुला गरेको छ । त्यस्तै, सात हजार ४१२ मिटर उचाइका काब्रु सेन्ट्रल र सात हजार ३१८ मिटर उचाइको काब्रु पिकसमेत आरोहणका लागि खुला गरिएको छ । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल–पिक आरोहणका लागि खुला गरिएको छ।

जिल्लाको प्रमुख विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल यसै क्षेत्रमा पर्छ । यसको उचाइ आठ हजार ५८६ मिटर छ। सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो । तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणकाे अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजंघालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो । कञ्चनजंघा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए । धार्मिक आस्थालाई सम्मान गर्दै उनीहरूले हिमालको चुचुरो यथावत् राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ।

कञ्चनजंघाको पाँच प्रमुख चुचुरा रहेका छन् । कञ्चनजंघा मुख्य आठ हजार ५८६, कञ्चनजंघा पश्चिम (यालुङ याङ) आठ हजार ५०५ मिटर, कञ्चनजंघामध्य आठ हजार ४८२ मिटर, कञ्चनजंघा दक्षिण आठ हजार ४९४ मिटर र काङबाचेन सात हजार ९०३ मिटर रहेको छ । सरकारले यी पाँचवटै प्रमुख चुचुरामा आरोहण खुला गरेको छ। ताप्लेजुङकै कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाइ सात हजार ७१० मिटर छ। यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हो । किराँत धर्मावलम्बीले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ । कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।

पर्वतीय पथप्रदर्शक संघ नेपालका अध्यक्ष सन्दीप गुरुङका अनुसार ताप्लेजुङलगायत ६ हजार मिटर उचाइको हाराहरीको हिमाल–पिक आरोहण गर्नका लागि पाँचदेखि ६ जनाको समूहका लागि रु. १५ लाख खर्च हुन्छ । ‘पाँचजनाको समूहमा दुईजना पथप्रदर्शक आवश्यक हुन्छ । पथप्रदर्शकलाई दैनिक पारिश्रमिक रु. चार हजारदेखि ६ हजारसम्म खर्च हुन्छ,’ उनले भने । व्यक्तिगत आवश्यक सामग्री रु. ६० हजारभन्दा बढी लाग्छ । हिमाल आरोहण गर्न पहिला प्रशिक्षण तथा ट्रेनिङ लिनुपर्ने हुन्छ । आरोहण गर्ने साहस जोकोहीले गर्न सक्ने गुरुङले बताए ।

जिल्लामा अवस्थित पाँच हजारदेखि सात हजारसम्मका पिक नेपाली नागरिकले आरोहण गर्न प्रतिव्यक्ति रु. पाँच लाखदेखि माथि खर्च हुने पदप्रदर्शक नादा शेर्पाको भनाइ छ । पर्वतीय पथप्रदर्शक संघ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीका लागि एक अदभूत अनुभव हो । तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ । हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाहरूको संख्यालगायत विभिन्न कारकमा निर्भर गर्छ । उचाइ बढ्दै जाँदा खर्च पनि बढ्ने गर्छ ।

हिमालको प्रवर्द्धन गर्न महोत्सव हुँदै

ताप्लेजुङका दुई स्थानीय तहमा मात्र हिमाल रहेका छन् । फक्ताङ्लुङ गाउँपालिकाका ४३ वटा हिमाल र सिरिजंघा गाउँपालिकाका पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । अहिले यी दुई पालिका हिमालको प्रवर्द्धन गर्न पर्यटन महत्वसको तयारीमा जुटेका छन् ।

फक्ताङ्लुङ गाउँपालिका– ६ लेलेप गाउँमा कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अगुवाइमा कञ्चनजंघा हिमाल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजंघा ‘प्लाटिनम जुब्ली’ २०८२ महोत्सव अन्तिम तयारी पुगेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए । आउँदो वैशाख ५–७ गते फक्ताङ्लुङ गाउँपालिका– ५ लेलेपमा महोत्सव हुने भएको हो ।