
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ७ भरबलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका– ७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु.१ च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका– १ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका– ६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घाइतेमध्ये तीनजनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको उनले जानकारी दिए ।
दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका– ४ बिठुवा बस्ने सवारीचालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।
सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको उनले बताए ।