१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
Invalid date format १४:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिँजाको नराकोटमा नापी र मालपोत कार्यालय स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४o:oo

सिँजा भेगमा पर्ने तीन स्थानीय तहका नागरिकलाई लक्षित गर्दै सिँजा गाउँपालिकाको नराकोटमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ। हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका नागरिकलाई घरआँगनमै सेवा प्रवाह गर्ने गरी नराकोटमा नापी र मालपोत कार्यालय स्थापना गरिएको हो।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रबार नराकोटमा स्थापना गरिएको नापी र मालपोत कार्यालयको उद्घाटन गरेका छन्। नापी र मालपोत कार्यालय उद्घाटन गर्न जुम्ला आइपुगेका मन्त्रीसहितको टोलीलाई सिँजावासीले पन्चेबाजासहित भव्य स्वागत गरेका थिए।

नापी र मालपोत सेवाका लागि महँगो खर्च व्यहोरेर सदरमुकाम जान बाध्य नागरिक घरआँगनमै मालपोत र नापी सेवा लिन पाएपछि सिँजावासी उत्साहित भएका छन्। सिँजा–६ गोराका मोती दमाईंले सिँजा क्षेत्रका तीन पालिकालाई लक्षित गरेर नापी र मालपोत कार्यालय स्थापना भएपछि खुसी व्यक्त गरे। उनले भने, ‘घरकै खाना खाएर सेवा लिन पाइने भयो।’

उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले सिँजामा नापी र मालपोत कार्यालय स्थापना गर्ने सरकारको निर्णयले ऐतिहासिक सिँजा क्षेत्रले आर्थिक र प्रशासनिक रूपमा ठुलो सफलता हात पारेको बताए।

संघीयता कार्यान्वयनपछि गाउँगाउँमा सिंहदरबार भनिए पनि नापी र मालपोतको झन्झटिलो सेवाले सिँजाका नागरिक असन्तुष्ट थिए। जग्गा खरिद, नामसारी, राजीनामालगायतका काम गर्न ठुलो रकम खर्च गरेर सदरमुकाम धाउनुपर्ने सिँजावासीको बाध्यता थियो। हप्ता दिनसम्म होटेलमा बस्नुपर्ने, आउजाउ, कागजात व्यवस्थापनलगायतका काममा न्यूनतम १०–१५ हजार रुपैयाँ खर्च हुने गरेको थियो।

तर, सिँजामै नापी र मालपोत कार्यालय उद्घाटन भएपछि सिँजा क्षेत्रका हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका नागरिक उत्साहित छन्। सिँजाका तिलाचन्द्र चौलागाईंले भने, ‘सदरमुकाम जाँदा लाग्ने खर्च, समय सबै जोगिने भयो। जग्गा नामसारी, राजीनामा गर्दा बुढापाकालाई हप्तौँसम्म हुने दुःख पनि अन्त्य हुने भयो। यो हाम्रो ऐतिहासिक सफलता हो। सिँजा क्षेत्रका लागि नापी मालपोत संघीयताको अनुपम उपहार हो।’

गत पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयले सिँजामा नापी र मालपोत कार्यालय स्थापना गर्न बाटो खुलेको थियो।