मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
नयाँ पत्रिका लुम्बिनी
२o८१ चैत ३ आइतबार २१:५६:oo
Read Time : < 1 मिनेट
समाचार

चलचित्र सुटिङ गर्ने योजनासहित चिनियाँ कलाकार लुम्बिनीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८१ चैत ३ आइतबार २१:५६:oo

चिनियाँ कलाकारहरूले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने विषयमा लुम्बिनी विकास कोषका प्रतिनिधिसँग भेटघाट तथा छलफल गरेका छन्। ‘म कहिल्यै नमरी जिउन चाहन्छु...’ नामक चलचित्रको एकतिहाइ भाग बुद्ध जन्मस्थल लुम्बिनीमा सुटिङ गर्ने योजना रहेको भन्दै निर्माता तथा कलाकारहरूले आइतबार लुम्बिनी विकास कोषसँग छलफल गरेका हुन्।

उक्त अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)ले बुद्ध र लुम्बिनीको सकारात्मक प्रचार गर्ने गरी चलचित्र निर्माण हुने भएकाले खुसी तुल्याएको बताए। उनले चलचित्रले चीनका नागरिकमा बुद्ध र लुम्बिनीबारे सकारात्मक प्रभाव पार्ने भन्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। लुम्बिनीमा चलचित्रको छायांकनका लागि कानुनले दिएका विषयमा सक्दो सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाए।

छलफलमा कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले चलचित्रमा बुद्धको सन्देशलाई सही रूपमा उठान गर्न सुझाव दिए। लुम्बिनीमा शाक्यमुनी बुद्ध र कपिलवस्तुमा कक्रुछन्द र कनकमणि बुद्धको जन्म भएकाले ती क्षेत्र र बृहत्तर लुम्बिनीलाई समेटेर छायांकन गर्दा अझ प्रभावकारी हुने उनले बताए।

छलफलमा चलचित्रका निर्माता चाउ डिफिङले आफूहरू अहिले प्रारम्भिक जानकारी लिन मात्रै आएको बताए। यसपछि चिनियाँ दूतावास हुँदै लुम्बिनीमा छायांकनका लागि आउने बताए। उनले बुद्धको जीवनको सन्देशलाई चलचित्रमा उतार्न खोजेको र त्यसैका लागि यहाँ आएर छायांकन गर्ने योजना रहेको सुनाए।

निर्माता चाउसँगै छायाँकार डेङ्ग छुङमिनसहितको टिम लुम्बिनी आएको थियो। उनीहरूले चीनबाट चलचित्र छायांकन गरी लुम्बिनीमा सकाउने योजना रहेको चिनियाँ कलाकारहरूको टोलीका सहजकर्ता डा. सागर न्यौपानेले बताए। चिनियाँ कलाकारहरू यहाँ आएर चलचित्र बनाउँदा लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने उनको पनि विश्वास छ।