मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ चैत २ शनिबार
  • Wednesday, 16 July, 2025
२o८१ चैत २ शनिबार १७:४६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दिक्तेलको बाम्राङ र हलेँसीको च्यास्मिटारमा दुना-टपरी उद्योग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २ शनिबार १७:४६:oo

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङमा दुना–टपरी उत्पादन सुरु गरिएको छ। बाम्राङस्थित शंखुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यावसायिक रूपमा दुना–टपरी उत्पादन गर्न सुरु गरेका छन्।

प्लास्टिकजन्य वस्तुले सहरबजार मात्र नभएर गाउँघरसमेत फोहोर बनाउनुका साथै वातावरणमा प्रतिकूल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न सालको पातबाट दुना–टपरी बनाएर उपयोगमा ल्याउने उद्देश्यले उद्योग स्थापना गरेको सञ्चालक राईले बताए। मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा रु. पाँच र टपरीको प्रतिगोटा रु. आठका दरले निर्धारण गरिएको जनाइएको छ।

निम्न आर्थिक अवस्थाका महिलालाई रोजगारीको अवसरसमेत दिलाउने उद्देश्यले दुना–टपरी उद्योग स्थापना गरिएको सञ्चालक राईले जानकारी दिए।

‘सालको पातबाट बनाइने दुना–टपरीको कारण सालको पातसमेत सदुपयोग भएको छ। जंगलबाट टिपेर ल्याएको सालको पातलाई प्रतिमुठा ३५ देखि  ६० सम्ममा खरिद गर्दै आएको छु,’ उनले भने, ‘विनाप्रयोग जंगलमा खेर गइरहेका सालका पातलाई उपयोग गर्ने काम सुरु भएको छ। दुना–टपरी गाँस्नेलाई प्रतिगोटा रु. एकका दरले दिने गरेको छु। यसले निम्न आर्थिक अवस्थाका स्थानीयलाई रोजगारीको अवसरसमेत दिलाइएको छ।’

गाउँमा हुने हरेक बिहे–कार्जे, भोज–भतेर तथा पूजापाठमा दुना–टपरी प्रयोग एवं त्यसमा राखेर खाने परम्परा लोप हुनै लागेकाले पनि मेसिनमार्फत व्यावसायिक रूपमा दुना–टपरी बनाउन सुरु गरिएको सञ्चालक राईले बताए। ‘गाउँघरमा हुने अधिकांश कार्य-भोजमा प्लास्टिकका भाडा प्रयोग हुने थालेका छन्। यो स्वास्थ्यका लागि मात्र नभई वातावरणीय हिसाबले पनि ठीक होइन,' उनले भने, ‘दुना–टपरीमा खाने परम्परा लोप हुनै लागेकाले पनि मेसिनमार्फत व्यावसायिक रूपमा दुना–टपरी बनाउन सुरु गरेका छौँ। यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।’

बाम्राङमा उत्पादित दुना–टपरी गाउँमा हुने पूजापाठ, विवाह तथा व्रतबन्धका साथै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको जनाइएको छ। बाम्राङमा दुना–टपरी उद्योग सञ्चालन भएपछि उपभोक्तालाई समेत सहज भएको छ।

उता, हलेँसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा दुना–टपरी उद्योग सञ्चालन गरेको छ। त्रिधार्मिकस्थल हलेसी दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गर्दै नगरपालिकाले दुना–टपरी उद्योग सञ्चालन गरेको हो।

च्यास्मिटार कृषि महिला सहकारी संस्थामार्फत सञ्चालित उद्योगमा उत्पादित दुना प्रतिगोटा रु. पाँच र टपरी प्रतिगोटा रु. दशमा बिक्री सुरु गरिएको छ। सहकारी संस्थामा आबद्ध महिलालाई सात दिनको तालिम दिएर दुना–टपरी उद्योग सञ्चालनमा ल्याइएको नगरप्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले अर्खौलेमा पनि दुना–टपरी उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेँसीमा दर्शन तथा पूजापाठ गर्न आउने भक्तजनलाई अनिवार्य स्थानीयस्तरमा उत्पादित दुना–टपरी मात्र प्रयोग गर्ने/गराउने तयारी गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन्।