मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १७ सोमबार
  • Monday, 23 December, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ मङ्सिर १७ सोमबार o६:५३:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री ओली आज चीन जाँदै, सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षरको तयारी

चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्तामा बिआरआईको वैकल्पिक प्रस्तावदेखि एक दर्जन परियोजना पनि छलफलको सूचीमा

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १७ सोमबार o६:५३:oo

प्रधानमन्त्री केपी ओली उत्तरी छिमेकी चीनको चारदिने औपचारिक भ्रमणका लागि सोमबार बेइजिङ जाँदै छन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनसहितका करिब एक दर्जन एजेन्डा उनको सूचीमा छन् । सोमबार दिउँसो हिमालय एयरलाइन्सको चार्टर उडानबाट प्रस्थान गरेर अपराह्न पाँच बजे उनी बेइजिङ अवतरण हुने कार्यतालिका छ ।

प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबिच मंगलबार बेइजिङमा औपचारिक तथा शिष्टाचार वार्ता हुँदै छ । भ्रमणमा प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङबाहेक अन्य कुनै सहर जाने कार्यक्रम छैन । तेस्रोपटक प्रधानमन्त्री भएका ओलीको पछिल्लो प्रधानमन्त्रीकालको यो पहिलो औपचारिक भ्रमण हो भने प्रधानमन्त्रीका रूपमा तेस्रो चीन भ्रमण हो । भ्रमणमा सरकारी र निजी क्षेत्रका गरी ८७ सदस्यीय प्रतिनिधिमण्डल रहनेछ ।

प्रधानमन्त्री ओली चीन जानुअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीनको छेन्दुमा शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेकी थिइन् । प्रधानमन्त्रीको चीन भ्रमणपूर्व नेपालबाट परराष्ट्रमन्त्रीको चीन भ्रमण पनि पहिलोपटक भएको हो । प्रधानमन्त्रीकै भ्रमणको तयारीका सिलसिलामा परराष्ट्रमन्त्री राणाले चीन भ्रमण गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच द्विपक्षीय औपचारिक वार्ता हुनेछ । त्यसपछि दुई देशबिच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ प्रधानमन्त्रीले दिवाभोज आयोजना गर्नेछन् । चिनियाँ जनमुक्ति सेनाको गार्ड अफ अनरसहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ ।

प्रधानमन्त्री ओली बुधबार नेपाली राजदूतावासद्वारा आयोजना हुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरूद्वारा आयोजित सम्मेलनलाई त्यही दिन सम्बोधन गर्नेछन् । उनको पेकिङ विश्वविद्यालयमा उनले नेपाल–चीन सम्बन्धबारे प्रवचन दिने कार्यक्रम छ । उनी बिहीबार स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले बिआरआईको ढाँचाबारे तयार गरेको सहमतिको नयाँ मस्यौदामाथि चिनियाँ नेतासँग छलफल गर्नेछन् । परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यीसँग यसबारे छलफल गरिसकेकी छिन् । नेपालले चीनलाई मस्यौदा पठाइसकेको छ । चीन सहमत भए मंगलबार त्यसमा दुई देशका परराष्ट्रसचिवस्तरमा हस्ताक्षर हुनेछ । नेपाल र चीनबिच २९ वैशाख ०७१ मा हस्ताक्षरित बिआरआई सम्झौतामा थप प्रतिबद्धता मात्रै हो ।

यसबाहेक प्रधानमन्त्री ओलीको भ्रमणमा पनि चिनियाँ अनुदानमा स्याफ्रुबेँसी–रसुवागढी राजमार्गको स्तरोन्नति, हिल्सा–सिमिकोट सडकको स्तरोन्नतिसम्बन्धी सम्झौता कार्यान्वयन, कोरला नाकामा सुक्खा बन्दरगाह सञ्चालन, तातोपानी नाकामा यात्रुहरूको आवागमन पुनः थाल्ने विषयमा कुराकानी हुनेछ ।

यसैगरी, टोखा–छहरे सुरुङमार्ग, पोखरा र काठमाडौंबाट तिब्बतको ल्हासालगायतका सहरमा उडान, नेपाल–चीन ऊर्जासम्बन्धी सहकार्य, चिलिमे–रसुवागढी–केरुङ २२० केभी प्रसारणलाइन आयोजना, संखुवासभाको किमाथांकामा सीमापार प्रसारणलाइन निर्माण, झापाको दमकमा नेपाल–चीन मैत्री औद्योगिक पार्कको परियोजना विकास सम्झौता, सीमा व्यवस्थापन प्रणाली, डडेल्धुरामा खेलसम्बन्धी परियोजना, बाउन्ड्री प्रोटोकल, नेपालका सीमाक्षेत्रमा चिनियाँ सहयोग अभिवृद्धिलगायतका विषयमा छलफल र सम्झौताको तयारी छ ।

साढे पाँच अर्ब रुपैयाँ चिनियाँ अनुदान सहायता लिने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको चीन भ्रमणपूर्व सरकारले चीनले दिने ३० करोड चिनियाँ आरएमबी (करिब साढे पाँच अर्ब रुपैयाँ)बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यसैगरी, नेपाल र चीनबिच हुने विभिन्न सम्झौता तथा बिआरआईको परिमार्जित प्रस्ताव पनि मन्त्रिपरिषद्ले स्वीकार गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकपछि चीनसँग २०२५ देखि २०२९ सम्मको पञ्चवर्षीय विकास योजनाको समझदारीपत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेको बताए । सार्वजनिक सेवा प्रसारण संस्था र चीनको चाइना मिडिया ग्रुपबिच सहकार्यसम्बन्धी हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । गुरुङका अनुसार नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम सञ्चाल गर्ने विषयमा पनि प्रधानमन्त्रीको भ्रमणमा नेपाल र चीनबिच हस्ताक्षर हुनेछ । संखुवासभाको किमाथांका नाका जोड्ने पक्की पुल निर्माणसम्बन्धी पनि समझदारीपत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । मंगलबार बेइजिङमा दुई देशबिच यसबारे हस्ताक्षर गर्ने कार्यक्रम छ ।

विगतका सम्झौतामा सुस्त प्रगति
नेपाल र चीनबिच पछिल्लो एक दशकका उच्चस्तरीय भ्रमणका वेला भएका सहमति र सम्झौता कार्यान्वयनको अवस्था फितलो छ । हरेक भ्रमणमा पुराना सहमति र समझदारी कार्यान्वयनसम्बन्धी छलफल हुने गरे पनि प्रगति भने अपेक्षाकृत हुँदैन ।

०७२ मा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भएका सम्झौताहरूको कार्यान्वयन पनि उत्साहजनक छैन । भारतीय नाकाबन्दीकै बिचमा भएको पारवहन तथा यातायात सम्झौताले तेस्रो मुलुकसँग व्यापार गर्न वैकल्पिक ट्रान्जिटको प्रयोग गर्न  सकिने आधार दिएको थियो । चिनियाँ ट्रान्जिट प्रयोगमा नआए पनि व्यापारका लागि नीतिगत बाटो भने खुला भएको छ ।

त्यसवेला नै भएको हिल्सा यारीमा पुल निर्माण तथा मर्मतसम्भार सम्झौता ढिला गरी कार्यान्वयनमा गएको छ । दुई देशको सीमा हिल्सामा चीन सरकारद्वारा पक्की पुल निर्माण काम अघि बढिसकेको छ । तीन सिफ्टमा काम भएको छ ।

ओलीकै भ्रमणका वेला भएको पोखरा विमानस्थलसम्बन्धी तीन सम्झौता (प्राविधिक पक्ष, निर्माणकार्य र २१ अर्ब सहुलियतपूर्ण ऋण) कार्यान्वयनमा आएको छ । निर्माण सकिएसँगै १७ पुस ०७९ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको छ । अहिलेको प्रधानमन्त्री ओलीको चीन भ्रमणमा ऋण अनुदानमा परिणत गर्न आग्रह गर्ने तयारी छ ।

नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययनसम्बन्धी समझदारी कार्यान्वयन प्रक्रियामा छ । विस्तृत अन्वेषणका लागि अहिले चिनियाँ र नेपाली प्राविधिकको टोलीले दैलेखमा काम गरिरहेका छन् । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य ८० प्रतिशत सकिएको छ ।

०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पनि चिनियाँ बैंकले नेपालमा शाखा खोल्ने र त्यसको सहजीकरण गर्ने समझदारी थियो । तर, नेपालमा चिनियाँ बैंकको शाखा खुल्ने समझदारीमा ठोस प्रगति छैन । डिजिटल भुक्तानी प्लाटफर्ममार्फत भने चिनियाँहरूले नेपालमा आएर सहज रूपमा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने गरी क्रसबोर्डर भुक्तानी सुरु भइसकेको छ ।

ओलीकै भ्रमणका वेला भएको अर्को ४० करोड रुपैयाँबराबरको ३२ हजार सोलार प्यानल प्रदान गर्ने सम्झौतामा प्रगति छैन । स्वतन्त्र व्यापारसम्बन्धी सम्झौतामा नेपाल र चीनबिच स्वतन्त्र व्यापारसम्बन्धी सम्भाव्यता अध्ययन भएका छन् । ट्रेडमार्क दर्तासम्बन्धी सम्झौतामा पनि प्रगति विवरण केही छैन ।

०७६ मा चिनियाँ राष्ट्रपतिले गरेको नेपाल भ्रमणका वेला भएका २० वटा सम्झौता–समझदारीको प्रगति निकै कम छ । सम्झौताअनुसार छेन्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना भइसकेको छ । नेपाल र चीनबिच सगरमाथा÷झुमुलोङमा संरक्षण समन्वयबारे एमओयू भएको छ ।

यसबाहेक नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबिच नेपालबाट चीनमा अमला फल निर्यातका लागि वनस्पति स्वास्थ्यका मापदण्ड प्रोटोकल छलफलकै चरणमा छ । नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबिच लगानी समन्वय कार्य समूहको स्थापना सम्झौताअनुसार एक चरणमा वार्ता भएको छ । यद्यपि, दुवै पक्ष सम्मिलित कार्य समूहले ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

व्यापारमा संयुक्त कार्यसमूहको स्थापनाका विषयमा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबिच सम्झौताअनुसार दुई देशका सचिवस्तरीय संयुक्त कार्यसमूह स्थापना भइसकेको छ । हालसम्म यो समूहको दुईपटक बैठक पनि बसिसकेको छ । यद्यपि, यसलाई संस्थागत बनाउन भने बाँकी रहेको वाणिज्यका अधिकारीहरूको भनाइ छ । चीन–नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भावना अध्ययन, शासन क्षमता अभिवृद्धिमा समन्वय तथा आदान–प्रदानसम्बन्धी एमओयू, आपराधिक विषयमा पारस्परिक कानुनी सहायताबारे नेपाल र चीन सन्धिमा प्रगति छैन ।

पछिल्लोपटक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष असोजमा चीन भ्रमण गर्दा पनि दर्जनौँ सहमति र समझदारी भएका थिए । तर, उनी तेस्रोपटक प्रधानमन्त्री हुँदा चीन भ्रमणका वेला भएका सम्झौताहरूको कार्यान्वयनमा पनि खासै प्रगति छैन । सन् १९८१ मा भएको चीन–नेपाल व्यापार तथा भुक्तानी सम्झौताको पुनरावलोकन र परिमार्जन गर्नका लागि संयुक्त प्राविधिक कार्यदल गठन गर्न चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच समझदारी थियो । पुनरावलोकनका लागि नेपालले मस्यौदा तयार पार्ने अन्तिम तयारी पूरा गरिसकेको छ ।

प्रचण्डको भ्रमणका वेला चीनको नेसनल डेभलप्मन्ट एन्ड रिफर्म कमिसन र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्य, नेपालको उत्तरी पहाडी क्षेत्रका उत्पादन तथा जैविक पदार्थहरूको प्रमाणीकरण, डिजिटल अर्थतन्त्रमा सहकार्य, हरित तथा न्यून कार्बन उत्सर्जन हुने विकाससँग सम्बन्धित कार्यमा सहकार्यलगायतका विषयमा समझदारी भएका थिए । तर, यसमा ठोस प्रगति छैन । यस्तै कृषि, पशुपालन तथा मत्स्यपालनसम्बन्धी सहकार्य, नेपालबाट चीन पठाउन वनस्पतिमा आधारित ओखतीमूलक पदार्थको आपूर्तिसम्बन्धी मापदण्ड र नियम निर्माण, चीनको नेसनल एड्मिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसन र नेपाल सरकारबिच शास्त्रीय साहित्यको अनुवाद तथा प्रकाशनका साथै विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी सहकार्य र विपत् सामग्री–जनशक्तिसम्बन्धी समझदारी भएको थियो । यसमा पनि प्रगति विवरण छैन ।

सम्झौता कार्यान्वयन नहुनुमा नेपालको राजनीतिक नेतृत्वमा नै कमजोरी देखिन्छ : डा. महेश मास्के, चीनका लागि नेपाली पूर्व राजदूत
प्रधानमन्त्री वा उच्च राजनीतिक नेतृत्व चीन, भारत वा कुनै पनि मुलुकमा देशको प्रतिनिधित्व गरेर जान्छन् । त्यहाँ जाँदा उनीहरू कुन पार्टी वा कुन सरकारको भनेर जाँदैनन् । उनीहरूले सिंगो देशकै प्रतिनिधित्व गरेका हुन्छन् । त्यसअघि भएका सम्झौता, सन्धि, प्रतिबद्धता वा नयाँ योजनाको लेखाजोखा गर्ने गरी प्रतिनिधित्व हुन्छ । यहाँ यति–यति काम भयो, बाँकी यसरी बढाऔँ वा कुनै परियोजना ठिक छैन भने नयाँ प्रस्ताव राख्ने र नयाँ सम्भावनाका ढोका खोल्ने मौका भ्रमण हो ।

डा. महेश मास्के

सिमाना जोडिएको चीन ठुलो आर्थिक शक्तिराष्ट्र हो र ऊ नेपाललाई सहयोग गर्न तत्पर पनि देखिन्छ । म आफैँ राजदूत भएको सन् २०१६ मा ऐतिहासिक समझदारी भएका छन् । नाकाबन्दीको पृष्ठभूमिमा त्यस्ता सम्झौता भए । सम्झौतामा राम्रै विषय हुन्छन्, तर त्यसलाई लागू गर्नमा नेपाली पक्ष कमजोर देखिन्छ ।

एउटा समस्या नेपालले ती सम्झौता अघि बढाउन नचाहेको हो कि जस्तो देखिन्छ । नेपालबाट बृहत् योजना बनाउने, स्रोत जुटाउने र विज्ञको टोली बनाउने काम भएको छैन । बिआरआई कसरी अघि बढाउने भनेर थिंकट्यांकको समूह बनाउनुपर्ने हो । पूर्वराजदूत, अर्थशास्त्री, राजनीतिज्ञ तथा विज्ञहरूको समूहले अध्ययन गरेर पृष्ठपोषण गर्नुपथ्र्याे । अहिले त अन्तिम घडीमा आएर गर्ने–नगर्ने विवाद र अन्योल देखियो ।

दक्षिण छिमेकीको दबाबमा यस्तो भएको हो कि भन्ने आशंका छ । तर, यो अचम्म र हास्यास्पद छ । चीनसँग भारतको व्यापारको हिस्सा ठुलो छ । उनीहरू धमाधम एआइआइबीबाट ऋण लिइरहेका छन् । तर, हाम्रोमा चाहिँ छिमेकी देश भारतबाट चीनसँग सहकार्य गर्न अवरोध भइरहेको दबाबबारे राजनीतिक नेतृत्वहरूबाटै परोक्ष रूपमा अभिव्यक्त आइरहेको हुन्छ । कमजोरी नेपालको राजनीतिक नेतृत्वमा नै देखिन्छ । तपाईंहरू आफैँ चीनसँग व्यापारिक साझेदारी गरिरहनुभएको छ, तर हामीलाई बिआरआईमा जान किन दबाब दिनुहुन्छ ? भनेर राजनीतिक नेतृत्वले भारतलाई किन कन्भिन्स गर्न सकिरहेका छैनन् ।

अहिले प्रधानमन्त्री केपी ओली आफैँले ऋण नलिने सार्वजनिक अभिव्यक्ति दिइसक्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विगतदेखि भनिरहनुभएकै विषय हो । बिआरआईको सिद्धान्तअनुसार नै लगानीमा साझेदारी हुनु हो । त्यहाँ अनुदान पनि छ, सहुलियतपूर्ण तथा व्यापारिक ऋण लिने सुविधा पनि छ । १५० भन्दा बढी देश बिआरआईमा आबद्ध छन् । खासमा हामीकहाँ बहस कस्तो परियोजनामा चीनसँग सहकार्य गर्ने भन्नेचाहिँ हुनुपर्ने हो । ऋण लिने हो भने प्रतिफल दिन सक्ने र ऋण पनि तिर्न सक्ने परियोजना निर्धारण गर्नुपर्ने हो । परियोजनामा छलफल हुनुपर्नेमा ऋण कि अनुदानमा बहस भइरहेको छ । अनुदान मात्रै लिने अडान दोहो¥याउँदा बिआरआईकै सम्भावना निस्तेज बनाउन खोजेको देखिन्छ ।

नेपाल ऋणको चटारोमा छ, उसले ऋण लिने कि नलिने भन्ने छ । तर, यहाँ कुल गार्हस्थ उत्पादनको ४४ प्रतिशत ऋण छ भन्ने देखाएर ऋण लिनैहुन्न भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । यो सही तर्क हो जस्तो लाग्दैन । जिडिपीसँग तुलना गर्ने हो भने अमेरिकाको १२१ प्रतिशत छ, इटालीको १४४ प्रतिशत र छिमेकी देश भारतको ८३ प्रतिशत छ । हामी ४४ प्रतिशत हुँदा पनि लिनुहुन्न भन्ने तर्क गर्छाैँ । यो ४४ प्रतिशत ऋण पनि चिनियाँ ऋण मात्रै त छैन । चीनले पनि उसको पैसा डुबाउन चाहँदैन ।

भारतबाट निम्तो आएन, चीनबाट आइसकेको थियो । गठबन्धनका साझेदारले पनि दबाब दिएका थिए । चीनले कस्तो प्रतिक्रिया दिन्छ, हेर्न बाँकी नै छ । तर, नेपाललाई यतिचाहिँ गर्नुपर्छ भन्ने सन्देश चीनले प्रवाह गर्छ भन्ने मलाई विश्वास छ । भ्रमणहरू त गरिरहनुपर्छ । अस्थायित्वको बिचमा स्थायी किसिमका अडान लिन सक्नुपर्छ । तर, यस्तो प्रवृत्ति नेतृत्वमा देखिएको छैन ।