मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
२o८१ मङ्सिर ९ आइतबार o६:o२:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार o६:o२:oo

स्कटल्यान्डका सम्राट् बु्रस गद्दीमा बसेको धेरै समय भएको थिएन । राजपाटबारे केही बुझ्नसमेत नपाउँदै उनका दुस्मनले आक्रमण गरे । आक्रमणको उनले डटेर सामना गरे र मुस्किलले सम्हालिएका मात्र थिए, दुस्मनले पुनः दोस्रोपटक आक्रमण गरे । यसपटक कैयौँ राजाले एकसाथ चारैतिरबाट उनीमाथि आक्रमण गरे । परिणामतः बहादुरीसाथ लड्दालड्दै पनि सम्राट् ब्रुस पराजित भए । उनको गद्दीमाथि दुस्मनले कब्जा जमाए । उनले १४ पटक प्रयास गर्दा पनि गद्दी जोगाउन सकेनन् ।

सम्राट् ब्रुस दुस्मन सेनाको कब्जामा पर्दापर्दै जोगिए । पराजयबाट उनी निराश भए । आफ्नो राज्यबाट भागेर उनी एउटा अग्लो पहाडमा पुगे । पहाडको घना जंगलमा बसेर उनी आफ्नो साम्राज्य, दुस्मनको आक्रमण, आफ्नो प्रत्याक्रमण, सेनाको मनोबल, घमासान युद्ध र आफ्नो पराजयको विषयमा गम्भीर भई मनमनै विश्लेषण गरिरहेका थिए । अचानक आँखा दुइटा रुखको बिचमा एउटा जाल बनाउने प्रयासमा जुटेको माकुरामा पुगेर केन्द्रित भए । माकुरा दुई रुखबिच हावामा जाल बनाउने प्रयास गरिरहेको थियो । तर, जति प्रयास गरे पनि उसको जाल टुटिरहेको थियो । जसले गर्दा ऊ आफ्नो लक्ष्यमा सफल हुन सकिरहेको थिएन । एकपछि अर्को गर्दै माकुरा २० पटक असफल भयो । तैपनि, उसले हिम्मत हारेन, आफ्नो प्रयास छाडेन ।

अन्ततः २१औँ पटकको प्रयासमा उसले जाल बनाउने कार्यमा सफलता पाइछाड्यो । यो सब देख्दा पराजित सम्राट् ब्रुस खुसीले उफ्रिए । खुसी हुँदै उनले मनमनै भने– अझै सात अवसर बाँकी नै छन् भने म किन निराश हुने ? त्यसपछि उनले छिन्नभिन्न भएका आफ्ना सेनालाई एकत्रित पार्दै गए र उपयुक्त मौका हेरेर आफ्नो पूरै शक्ति र हिम्मतसाथ आक्रमण गरे । यसपटकको आक्रमणबाट उनले आफ्नो गुमेको राज्य र गद्दी पुनः फिर्ता ल्याउन सफल भए र फेरि एकपटक सम्राट् बने ।