नारायणी नदीमा ६ हजार माछाका भुरा छाडिएको छ। नदीआसपास बस्ने बोटे, माझी, मुसहर, थारू, कुमाल, दराईजस्ता समुदायलाई जीवन निर्वाहमा सहज होस् भनेर माछाका भुरा छाडिएको हो। नारायणी नदीको नवलपुर खण्डमा रहेका यी समुदायको प्रमुख आयकाे स्रोत नदी नै हो।
नदीमा नैनी प्रजातिका ६ हजार माछाका भुरा छाडिएको स्थानीय माछापालक किसान परमेश्वर महतोले बताए। विश्व मत्स्य दिवसको अवसर पारेर कावासोती–१७, अमलटारीबाट नदीमा माछा छाडिएको हो। नारायणी नदीमा पछिल्लो समय माछा हराउँदै गएको स्थानीयको भनाइ छ। नदीको प्राकृतिक स्वरूपमै राख्न माछाको भुरा छाडिएको मत्स्य व्यवसायी संघ नवलपुरका सचिव इन्द्रमणि भुसालले बताए।
नारायणी नदीमा यसअघि पनि माछा, घडियाल गोही, कछुवा छाडिँदै आएको छ। गत वर्ष पनि यहाँ मत्स्य दिवसका अवसरमा माछा छाडिएको थियो। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको आयोजनामा बिहीबार माछा छाडिएको हो।
नवलपुरमै उत्पादन भएका माछाका भुरा नारायणी नदीमा छाडिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताइन्। उनका अनुसार यहाँ छाडिएका एउटा माछाले एकपटकमा तीन लाखसम्म माछाका भुरा जन्माउन सक्ने भएकोले केही माछा मात्रै हुर्कन सक्यो भने पनि उपलब्धिमूलक हुनेछ।
नारायणी नदी चितवन राष्ट्रिय निकुञ्जमा रहेको गैँडा, बाघ, भालु, हात्तीजस्ता जंगली जनावरका साथै यहाँ आउने लाखौँ चराचुरुंगीको पानीको स्रोत पनि हो। नारायणी नदीलाई पुरानै अवस्थामा फर्काउन नसके पनि यहाँ रहेका जलचरहरूलाई संरक्षण गर्नु आवश्यक रहेको अधिकारकर्मीहरू बताउँछन्।