मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Saturday, 21 December, 2024
इब्राहिम अल–मरासी
२o८१ असोज ३० बुधबार १o:११:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

उल्टो पर्न सक्छ इरानी आणविक केन्द्रमा आक्रमणको असर

Read Time : > 2 मिनेट
इब्राहिम अल–मरासी
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १o:११:oo

इरानले बेरुतमा हिजबुल्लाहका नेता हसन नसरल्लाह र तेहरानमा हमासका नेता इस्माइल हानियको हत्याको जवाफमा इजरायलमाथि १ अक्टोबरमा गरेको क्षेप्यास्त्र आक्रमणपछि तेल अभिवको सम्भावित प्रतिकारबारे अनेक अड्कलबाजी भइरहेका छन् । केही अवलोकनकर्ता इरानी तेल प्रशोधन स्थलमा आक्रमण हुन सक्ने अनुमान लगाउँदै छन् भने केहीचाहिँ आणविक केन्द्रमा आक्रमण हुने भन्दै छन् ।

अमेरिकाले यी दुवै विकल्पको विरोध त गरेको देखिन्छ, तर कुनै पनि इजरायली हमलाको इरानले जवाफ दिने आकलनमा ‘टर्मनिल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड)’ मिसाइल प्रतिरक्षा प्रणालीसहित केही अमेरिकी सैनिक इजरायलमा तैनाथ गर्न स्वीकृति दिएको छ । यसैबिच बाइडेनका राजनीतिक प्रतिद्वन्द्वी एवं रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले इजरायललाई पहिले आणविक केन्द्रहरूमा हमला गर्न आग्रह गरेका छन् । ट्रम्पका ज्वाइँ जेर्ड कुस्नरले पनि यही सुझाएका छन् ।

ट्रम्प, कुस्नर र इजरायलका अन्य कट्टर समर्थक इरानी आणविक केन्द्रमा हुने कुनै पनि इजरायली आक्रमणका लागि खुसी छन् । तर, इरानी आणविक स्थलमाथिका इजरायली आक्रमणको परिणामका बारेमा भने उनीहरू बेखबर देखिन्छन् । इजरायलले इराकको फ्रान्स निर्मित ‘ओसिराक आणविक भट्टी’लाई सन् १९८१ मा ध्वस्त पारेपछि शान्तिपूर्ण आणविक कार्यक्रम भूमिगत भएको थियो भने यसले इराकी नेता सद्दाम हुसेनलाई आणविक हतियारको खोजमा लगानी गर्न थप प्रेरित गरेको थियो । इरानको आणविक कार्यक्रमविरुद्ध आक्रामक कदम चाल्दा पनि यस्तै असर पर्ने देखिन्छ ।

इजरायलका अहिलेसम्मका कदमले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिने इरानी अठोटलाई मात्र बढावा दिइरहेका छन्

‘प्रि–एम्टिभ’ प्रहार
सन् १९६० को दशकमा सोभियत संघले एउटा सानो आणविक अनुसन्धान रिएक्टर निर्माण गरिदिएपछि इराकको आणविक कार्यक्रम सुरु भएको थियो । इराकले सन् १९७० को दशकमा फ्रान्सबाट ओसिराक नामक एउटा ठुलो रिएक्टर किनेर फ्रान्स र इटलीको सहयोगमा गैरसैन्य आणविक कार्यक्रम विस्तार गरेको थियो । फ्रान्स सरकारले रिएक्टरको कुनै पनि सम्भावित दोहोरो प्रयोग रोक्न प्राविधिक उपाय सुनिश्चित गरिएको कुरा अमेरिकासँग साझा गरेको थियो ।

आणविक अप्रसार सन्धिमा हस्ताक्षर गरेको र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)ले आणविक स्थलको नियमित निरीक्षण गरिरहेको इराक इजरायलले दाबी गरेजस्तो आणविक अस्त्र विकास ‘नजिक’ पुगेको थिएन । तर, घरेलु असन्तोष र आसन्न चुनावमा हारको सम्भावना देखिरहेको इजरायली सरकार ‘प्रिएम्पिटिभ’ प्रहारतर्फ बढ्ने निधोमा पुग्यो ।

सन् १९८१ को जुन ७ मा अमेरिका निर्मित एफ–१५ र एफ–१६ लडाकु विमानले इजरायलबाट उडान भरेर ‘ओसिराक रिएक्टर’माथि बमबारी गरे । यो हमलाले त्यसलाई पूर्ण रूपमा ध्वस्त पार्नुका साथै तीन इराकी नागरिक र एक फ्रान्सेली इन्जिनियरको हत्या गरेको थियो । यो आक्रमणले इजरायली जनतामा ‘राष्ट्रवादी लहर’ जगाउँदै प्रधानमन्त्री मेनाचेम बेगिनलाई तीन हप्तापछिको निर्वाचनमा साँघुरो विजय हासिल गर्न मद्दत गर्‍यो । सन् २०२१ मा सार्वजनिक अमेरिकी दस्ताबेजले इजरायली आक्रमणले इराकको कार्यक्रमलाई समाप्त नपारेको बरु सद्दाम हुसेनलाई आणविक हतियार प्राप्त गर्न थप दृढ बनाएको बताउँछन् ।

यसले इराकी वैज्ञानिकलाई देशको आणविक कार्यक्रममा लामबद्ध हुन प्रेरित गर्‍यो । ‘ओसिराकमाथिको इजरायली बमबारीले धेरैलाई क्रोधित तुल्यायो । उनीहरू मध्यपूर्वमा आणविक हतियारमाथि यहुदी राज्यको एकाधिकार अन्त्यको लाइन लिन पुगे,’ इराकी आणविक वैज्ञानिक जाफर धिया जाफर आफ्नो संस्मरणमा लेख्छन् । ती वैज्ञानिक सद्दामका लागि ध्वस्त भएका आणविक हार्डवेयरभन्दा बढी मूल्यवान सावित भए । त्यसपछि सद्दाम शासनले आणविक गतविधिलाई गोप्य बनायो । पाकिस्तानजस्ता आणविक शक्तिसँग आणविक क्षमता विकासको सहयोग माग्न थाल्यो । उसले रिएक्टरको पुनः निर्माणको प्रयास पनि गर्‍यो । यो प्रयास पहिलो खाडी युद्धका कारण पूर्वाधार ध्वस्त बन्नुका साथै राज्यको ढुकुटी सुकेपछि सन् १९९०को दशकमा मात्रै सुस्त भएको हो ।

इरानमाथि आक्रमणको परिणाम
पछिल्ला वर्षमा इरानका थुप्रै आणविक वैज्ञानिकको हत्या भएको छ । सन् २०२० को नोभेम्बरमा तेहराननजिकै आणविक भौतिकशास्त्री एवं आणविक कार्यक्रमका उच्चपदस्थ सदस्य मोहसेन फखरी जादेहको गोली हानी हत्या गरिएको थियो । इरानले यो र विगतका यस्ता अन्य हत्याका लागि इजरायलमाथि आरोप लगाउँदै आएको छ । यी हत्या र इरानका आणविक कार्यक्रममाथि निरन्तर आक्रमणको परिणामस्वरूप उदाएको इरानी आणविक राष्ट्रवादले इरानीहरूको नयाँ पुस्तालाई आणविक विज्ञान पछ्याउन प्रेरित गरेको छ । ७ अक्टोबरयताका घटनाक्रमले यो भावनालाई थप बल पु¥याएको छ । गत फेब्रुअरी र मे महिनामा गरिएको एक सर्वेक्षणले इरानमा शान्तिपूर्ण आणविक कार्यक्रमका लागि जनसमर्थन अविश्वसनीय रूपमा उच्च रहेको मात्र होइन कि अब देशले आणविक हतियार नै प्राप्त गर्नुपर्छ भन्ने जनसहमति पनि बढ्दै गएको देखाएको छ ।

इजरायलका अहिलेसम्मका कदमले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिने इरानी अठोटलाई मात्र बढावा दिइरहेको छ । आणविक केन्द्रहरूमाथिको आक्रमणले त्यो अठोटलाई अझ बलियो बनाउनेछ । यसले इरानी आणविक कार्यक्रमलाई भूमिगत बनाउन र आणविक हतियार विकासको दिशालाई गति दिन सक्छ । अहिले इजरायली प्रधानमन्त्री नेतन्याहु आफ्ना पूर्ववर्ती बेगिनकै मार्गमा छन् । अक्टोबर ७ लगायत विभिन्न असफलताका कारण चौतर्फी आलोचना खेपिरहेको उनको सरकार इजरायली जनतालाई विजय देखाउन आतुर छ । तर, नेतन्याहुले अहिले गाजा र लेबनानमा जे गरिरहेका छन् र इरानमा जे गर्न खोज्दै छन्, त्यसले इजरायललाई जित दिलाउनेछैन । उनको रणनीतिले यी देश र मध्यपूर्वमा आक्रोश पैदा गर्दै छ । यसले इरान र उसका सहयोगीलाई इजरायली आक्रमणका कारण गुम्ने क्षमतालाई द्रुत पुनः नर्माण गर्न मद्दत गर्नेछ ।

(अल–मरासी क्यालिफोर्निया स्टेट युनिभर्सिटी सान मार्कोसका मध्यपूर्वको इतिहासका सह–प्राध्यापक हुन्) अलजजिराबाट