पुनर्निर्माणको स्थलगत निरीक्षणमा खटियो टोली

भूकम्पपछिको आवास पुनर्निर्माणले गति नलिएपछि भक्तपुरमा स्थलगत निरीक्षणका लागि टोली खटिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइले इन्जिनियरसहितको टोली स्थलगत निरीक्षणमा खटाएको हो । ‘इन्जिनियरसहितको तीन–तीनजनाका दुईवटा टोली खटिएका छन्, सबै नगरपालिका र वडालाई पत्राचार गरिएको छ, जनप्रतिनिधिसमेतको सहभागितामा टोलीले आवास पुनर्निर्माणका समस्या सुल्झाउदै छौँ,’ जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख धुव्र गैँडाले भने ।

टोलीले भूकम्पबाट प्रभावित लाभग्राहीको सूची पुनरावलोकन गर्ने र पहिलो किस्ता लगिसकेका लाभग्राहीलाई भेटेर दोस्रो किस्ता लिन नआउनुका कारणबारे सोधपुछ गरिरहेको छ । टोलीले किस्ता बुझेर घर नबनाउनेबाट पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ रकमसमेत फिर्ता गराउन थालेको छ । 

टोलीले निरीक्षणका क्रममा पहिलो किस्ता बुझेर घर नबनाउने चारजनाबाट ५०–५० हजार रुपैयाँ फिर्ता गराएको छ । जिल्लामा घर निर्माणका लागि पहिलो किस्ता बुझेकामध्ये सात हजार ६ सय ६ परिवारले मात्रै दोस्रो किस्ताबापतको एक लाख ५० हजार प्रतिपरिवार बुझेका छन् ।

आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता बुझिसकेका १६ हजारभन्दा बढी घरधुरीले अझै पुनर्निर्माणको काम थालेका छैनन् । लाभग्राही सूचीमा रहेका २८ हजार तीन सय आठमध्ये २४ हजार तीन सय २६ परिवारले मात्रै आवास निर्माण सम्झौता गरी पहिलो किस्ता बुझेका थिए । निरीक्षण टोलीले लाभग्राही सूचीमा परेका तर सम्झौता नगरेका तीन हजार नौ सय ८२ परिवारको अवस्थाबारे स्थलगत अवलोकन गरेर तथ्यांक संकलन गर्ने र लाभग्राही सूची अपडेट गर्ने गैँडाले बताए ।