१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३० आइतबार
  • Friday, 27 June, 2025
शिल्पा कर्ण काठमाडौं
२o८१ असार ३० आइतबार २१:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चंखेली गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसमेत ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३० आइतबार २१:२९:oo

हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्षसमेत ६ जनामाथि भ्रष्टाचार मुद्दा ठहर भएको छ। आइतबार विशेष अदालतले गत २२ फागुनमा दायर हानी-नोक्सानीको मुद्दामाथि आंशिक ठहरको फैसला गरेको हो। 

यस मुद्दामा गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र सबइन्जिनियर अजबहादुर बुढामाथि कसुर कायमको फैसला भएको हो। उनीहरू चारैजनालाई ६ महिना कैदको फैसला भएको छ भने एक लाख ७१ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ। उनीहरू चारैजनाले भ्रष्टाचार निवारण ऐनको दफा ८(१)(ङ) बमोजिमको कसुर गरेको भन्दै सजाय सुनाइएको हो। 

यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो। यसैगरी, वडा नं. ३ का अध्यक्ष शालिग्राम ऐडी र उपभोक्ता समितिका अध्यक्ष हंशबहादुर ऐडीलाई पनि विशेषले कसुरदार ठहर गरेको हो। उनीहरू दुवैलाई जनही ३–३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने भएको छ। यसै कसुरमा अजबहादुर पनि दोषी पाइएकाले उति नै सजाय सुनाइएको छ। उनीहरूले ऐनको दफा १९(२) बमोजिमको कसुर गरेको विशेषको ठहर छ । 

अजबहादुरले ऐनको दफा ८(४)बमोजिमको समेत कसुर गरेको विशेषको निष्कर्ष छ। उनी र उपभोक्ता समितिका सचिव हंशबहादुर ऐडीमाथि पनि उही कसुरमा उस्तै सजाय भएको छ। दुवैजनालाई जनही ६–६ महिना कैद र ३५ हजार रुपैयाँ जरिवाना हुने भएको छ। साथै, अध्यक्ष चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत शाही, वली, अजबहादुर बुढा र हंशबहादुर बुढाबाट हानी-नोक्सानी भएको १० लाख २९ हजार रुपैयाँ उनीहरूबाट दामासाहीले असुलउपर हुने फैसला भएको छ । 

उक्त गाउँपालिका वडा नं. ३ स्थित मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। आर्थिक वर्ष ०७४-७५ मा बाटो निर्माण योजनामा उक्त कार्यको नापजाँच नै नगरी काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्यांकनसहित नापी किताब र कार्यसम्पन्न प्रतिवेदनसमेत तयार गरी भुक्तानी गरिएको भेटिएको थियो। 

यस प्रकरणमा भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी गराई झुठा बिल भरपाई र नक्कली कागजातलाई आधार मानी उपभोक्ता समितिलाई भुक्तानी दिइएको थियो। यस मुद्दामा दुईजनाले भने सफाइ पाएका छन्। लेखापाल धर्मवीर पल्ली मगर र उपभोक्ता समिति अध्यक्ष टेकबहादुर बुढालाई विशेषले सफाइ दिएको हो।