Skip This
अमेरिकी प्रभुत्वलाई काउन्टर दिने मञ्च बन्दै सांघाई सहयोग संगठन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार १o:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

अमेरिकी प्रभुत्वलाई काउन्टर दिने मञ्च बन्दै सांघाई सहयोग संगठन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १o:५o:oo

शक्तिका विश्वव्यापी केन्द्र परिवर्तन भइरहेका र बहुध्रुवीय विश्व क्षितिजमा रहेको बताउँदै चीन र रुसका राष्ट्रपतिले बाह्य प्रभावको प्रतिरोध गर्न आफ्ना सहयोगी देशलाई आग्रह गर्दै आएका छन् । यस्तै आग्रह उनीहरूले सांघार्ई सहयोग संगठन (एससिओ) को सम्मेलनमा पनि गरे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका चिनियाँ समकक्षी सी जिनफिङ बिहीबार कजाकिस्तानको राजधानी अस्तानामा आयोजित सांघाई सहयोग संगठनका नेताहरूको भेलामा सहभागी भए । सम्मेलनलाई अमेरिकाविरुद्धको प्रभुत्वलाई काउन्टर दिने एउटा अवसरको रूपमा उनीहरूले उपयोग गरे । एससिओ एक क्षेत्रीय समूह हो, जसलाई मस्को र बेइजिङले विश्व मञ्चमा अमेरिकी ‘आधिपत्य’ को काउन्टरवेटको रूपमा हेर्छन् ।

सीले देशहरूलाई ‘बाह्य हस्तक्षेपको प्रतिरोध गर्न’ आह्वान गरे भने पुटिनले राजनीतिक र आर्थिक शक्तिको नयाँ केन्द्र बढिरहेको बताए । उनीहरूले चीन र रुसबीचको सम्बन्ध अझै सुदृढ बनाउनुपर्ने धारणा राखे । ‘हामीले बाह्य हस्तक्षेपको प्रतिरोध गर्न, एक–अर्कालाई दृढताका साथ समर्थन गर्न, एक–अर्काको चासोको ख्याल गर्न र हाम्रो देशको भविष्य र भाग्य तथा क्षेत्रीय शान्ति र विकासलाई नियन्त्रण गर्न हातमा हात जोड्नुपर्छ,’ सीले भने ।

एसिओ इतिहासको सही दिशामा र निष्पक्षता र न्यायको पक्षमा हुनु विश्वका लागि महत्वपूर्ण छ । क्रेमलिनद्वारा प्रकाशित संयुक्त घोषणामा समूहले विश्व राजनीतिमा महत्वपूर्ण परिवर्तन उल्लेख गरेको छ र ब्लकलाई विश्वव्यापी र क्षेत्रीय सुरक्षामा परिष्कृत भूमिका खेल्न आह्वान गरेको छ । क्रेमिलनले ब्लक क्षेत्रको स्थायित्वमा जोखिम बढेकोप्रति चिन्तासमेत व्यक्त गरेको छ । ‘बलको प्रयोग बढ्दै गएको छ । अन्तर्राष्ट्रिय कानुनको मापदण्डहरू प्रणालीगत रूपमा उल्लंघन भइरहेको छ । भूराजनीतिक टकराव र द्वन्द्व बढिरहेको छ भने विश्व र एससिओ क्षेत्रको स्थायित्वमा जोखिम बढ्दै गएको छ,’ क्रेमलिनले भनेको छ ।

अन्तिम विज्ञप्तिमा ‘प्यालेस्टिनी प्रश्नको व्यापक र न्यायोचित समाधान’सहित गाजामा ‘प्रारम्भिक, पूर्ण र दिगो युद्धविराम’का लागि आह्वान गरिएको छ । युक्रेनमा रुसी आक्रमण वा ताइबानसँगको चीनको विवादलाई उल्लेख गरिएको छैन । तर, समूहले ‘राज्यहरूको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको आपसी सम्मान’ गरेको क्रेमलिनको भनाइ छ ।

‘वैकल्पिक विश्व व्यवस्था’
रुस र चीन दुवैले नियमित रूपमा विश्वव्यापी मामिलामा अमेरिकी प्रभुत्वको विरोध गर्छन् र विशेषगरी आफ्नो सिमाना नजिकका क्षेत्रमा आफ्नो प्रभाव र नियन्त्रण बढाउन खोजिरहेका छन् । ‘बहुध्रुवीय संसार वास्तविकतामा परिणत भएको छ,’ पुटिनले शिखर सम्मेलनमा भने । रुसको नजिकको सहयोगी बेलारुस ब्लकमा प्रवेश गरेको छ र उसको प्रवेशलाई पुटिनले स्वागत गरे ।

‘न्यायिक विश्व व्यवस्थाको पक्षमा उभिने र आफ्नो वैध अधिकारको रक्षा गर्न र परम्परागत मूल्य–मान्यताको रक्षा गर्न दृढतापूर्वक तयार हुने राज्यहरूको वृत्त विस्तार हुँदै छ,’ पुटिनले भने, ‘शक्ति र आर्थिक वृद्धिको नयाँ केन्द्रहरू बलियो हुँदै छन् ।’ पश्चिमी प्रतिबन्धित इरान गत वर्ष सांघाई सहयोग संगठनको पूर्ण सदस्यको रूपमा सामेल भएको थियो । बिहीबारको बैठकमा मध्यएसियाको भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पनि सहभागी थिए ।

एससिओ सन् २००१ मा स्थापना भएको थियो, तर हालैका वर्षमा चर्चामा छ । चीन, रुस र बेलारुससँगै भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, पाकिस्तान र ताजिकिस्तान यसका पूर्ण सदस्य हुन् । यो सुरक्षा र अर्थतन्त्र र विशेषगरी मध्य एसियामा केन्द्रित भएर पश्चिमासँग प्रतिस्पर्धामा सहयोग गर्ने मञ्च बन्ने उद्देश्य राखेको छ । एससिओले विश्वव्यापी जनसंख्याको ४० प्रतिशत र यसको कुल गार्हस्थ उत्पादनको लगभग ३० प्रतिशत प्रतिनिधित्व गर्छ ।

तर, यो क्षेत्रीय विवादसहित धेरै आन्तरिक असहमति भएको एक भिन्न समूह हो । युक्रेनमा रुसी आक्रमणले मध्य एसियामा प्रमुख शक्तिहरूको चासो बढाएको छ, जहाँ मस्कोले आफ्नो परम्परागत शासन कायम राख्न खोजिरहेको छ भने चीनले आफ्नो प्रमुख बेल्ट एन्ड रोड पूर्वाधार परियोजनामार्फत बलियो सम्बन्ध राखेको छ । तेल र ग्यासको धनी तथा एसिया र युरोपबीचको महत्वपूर्ण यातायात मार्ग, रणनीतिक रूपमा महत्वपूर्ण यस क्षेत्रमा आफ्नो प्रभाव जमाउन पश्चिम पनि दौडिरहेको छ । अन्तिम घोषणामा ब्लकले अज्ञात देशहरू र क्षेत्रीय गठबन्धनहरूद्वारा मिसाइल प्रतिरक्षा प्रणालीको ‘एकपक्षीय र अप्रतिबन्धित निर्माण’ को आलोचना गर्‍यो । यो संयुक्त राज्य अमेरिकालक्षित मस्को र बेइजिङ दुवैको साझा गुनासो हो ।

पुटिनले एससिओले ‘एक निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको प्रमुख स्तम्भको रूपमा आफ्नो भूमिकालाई बलियो बनाइरहेको’ बताए । उनले भने, ‘सहयोग कसैका विरुद्धमा होइन, हामीले कुनै गुट वा गठबन्धन बनाएका होइनौँ, जनताको हितमा काम गरिरहेका छौँ । ’ सीसँगको द्विपक्षीय बैठकअघि टेलिभिजन टिप्पणीको क्रममा बोल्दै रुसी नेताले चाँडै मस्को र बेइजिङबीचको सम्बन्धमा फर्किए । उनले दुई देशको ‘व्यापक साझेदारी र रणनीतिक सहयोगले इतिहासको उत्कृष्ट अवधिको अनुभव गरिरहेको’ बताए ।

बदलामा सीले अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थिति र बाह्य वातावरणलाई उल्लेख गर्दै रुस र चीनले आगामी पुस्ताका लागि मित्रताको मौलिक आकांक्षालाई निरन्तरता दिनुपर्ने बताए । उनले पुटिनलाई ‘पुरानो मित्र’ बताउँदै देशहरूले द्विपक्षीय सम्बन्धको अर्को विकासका लागि योजना र प्रबन्ध राखेको बताए ।

–अलजजिराबाट

ad
ad
ad
ad