१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ५ बुधबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ५ बुधबार १६:३७:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नाट्य महोत्सव ‘म्याड फेस्ट– २०२४’ हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ५ बुधबार १६:३७:oo

थापागाउँस्थित मण्डला थिएटरमा तीनदिने नाट्य महोत्सव ‘म्याड फेस्ट– २०२४’ हुने भएको छ। ‘म्याड फेस्ट’ समूहले बुधबार मण्डलामा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएको हो।

मण्डला थिएटरका पूर्वविद्यार्थीहरू र मण्डलाकै संयुक्त प्रयासमा उक्त महोत्सव हुन गइरहेको महोत्सवका निर्देशक अनुप न्यौपानेले बताए। महोत्सवको यो पहिलो संस्करण हो।

असार २१ गतेदेखि २३ गतेसम्म हुने महोत्सवमा मण्डलाकै विद्यार्थीहरूबाट सिर्जना गरिएका ६ वटा नाटकका साथै अन्य कला सिर्जनाकै सेरोफेरोमा रहेर प्यानल छलफल, कविता, संगीत प्रस्तुति, समाचार नाटकजस्ता विधामा अन्तर्क्रियात्मक कार्यक्रमहरू हुने आयोजक टोलीले जनाएको छ।

महोत्सवमार्फत युवा रंगकर्मी, रंगप्रेमीहरूबीच सहकार्य, एकता तथा प्रोत्साहन गर्ने, युवा पुस्ताका कलाकारहरूलाई समुदायसँग नजिक बनाएर दिगो सिर्जनाका प्लेटफर्म उपलब्ध गराउने, लेखक, निर्देशक, कलाकार तथा प्राविधिकहरूको व्यावसायिक वृद्धिमा जोड दिने, मौलिकतालाई प्रोत्साहन गर्ने, विविधतालाई सम्बोधन गर्नेलगायतका उद्देश्य महोत्सवले राखेको छ।

महोत्सवका लागि ‘रेल्वे टु नोव्हेर,’ ‘मिरर,’ ‘सिल्पिनी,’ ‘नुग्धा,’ ‘आगम’ र ‘अंकुरन’ नाटकहरू छनोट भएका छन्। सामाजिक समकालीन मुद्दा र प्रयोगात्मक एबसर्ड नाटकहरूलाई छनोट गरिएको निर्देशक न्यौपानेले सुनाए।

उनका अनुसार १८ वटा कथाबाट आठवटा मात्र छनोट गरी १५ दिने प्रोडक्सन वर्कसप गरेर ६ वटा नाटकलाई अन्तिम चरणका लागि छानिएको हो।
महोत्सवको यो पहिलो संस्करण भएकाले अहिले मण्डलाकै टिम समावेश भए पनि आगामी संस्करणमा नेपालभरिका थिएटर र कलाकारहरूसँग पनि जोड्ने महोत्सव टोलीको योजना छ।

यस्ताखाले महोत्सवले युवा पुस्ताका लागि पहुँच, ज्ञान निर्माण गर्ने, सिर्जनाको अवसर प्रदान गर्ने र सहकार्यको वातावरण तय गर्न सकिन्छ भन्ने आयोजक टोलीको विश्वास छ।

निर्देशक न्यौपानेले भने, ‘हाम्रो सानो प्रयास र छलफलले हामीले महोत्सवमा जाने तयारी गरेका छौँ। हामीले गर्दै आएको काम र अनुभवहरू नै यसमा हुनेछन्। यसले हामी सबैलाई एकैठाउँमा ल्याउँछ भन्ने हामीलाई आशा छ।’

दयाहाङ राईको अभिभावकत्वमा हुने महोत्सवका लागि मण्डलाले अनलाइनमार्फत समेत टिकट बुकिङ खुला गरिसकेको छ।