प्रधानमन्त्री आउँदा पनि आकाश ठप्प

'मिडिया काउन्सिल विधेयक हचुवामा ल्याएको होइन'

२०७६ जेठ २ बिहीबार ०६:०७:०० | काठमाडाैं

प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री चढेको जहाजका लागि आकाश ठप्प पारिँदा बुधबार साँझ एयर अरेबिया, फ्लाई दुबई, क्याथे ड्रागन, इत्तिहाद र कतार एयरवेजका यात्रुले आकाशमा फन्को लगाइरहनुपरेको थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ  र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए । 

'मिडिया काउन्सिल विधेयक हचुवामा ल्याएको होइन'

मिडिया काउन्सिलसम्बन्धी विधेयकको आलोचना भइरहँदा प्रधानमन्त्री केपी ओलीले हचुवामा नल्याइएको बताएका छन् । भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्रीले बुधबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका हुन् ।

‘संसद्भन्दा अगाडि सरेर लोकतन्त्रको बदनाम नगर्नूस् । सभ्य समाजका लागि विधेयक ल्याइएको हो । हचुवाका भरमा सरकारले विधेयक ल्याएको होइन,’ उनले भने । 
प्रधानमन्त्रीले भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी भएको बताए । प्रधानमन्त्री ओली, श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोली भियतनाम हुँदै कम्बोडिया भ्रमणमा गएको थियो । 

प्रतिकृया दिनुहोस