२०७६ जेठ १ बुधबार १०:४२:००
नयाँ पत्रिका

पाकिस्तानका पूर्वकप्तान सहिद अफ्रिदी स्वार्थी खेलाडी

पाकिस्तानका पूर्वकप्तान सहिद अफ्रिदीले यसै साता आफ्नो अटोबायोग्राफी सार्वजनिक गरेका थिए । ‘द गेमचेन्जर’ नामको अटोबायोग्राफी बाहिर आएपछि अफ्रिदीका सम्बन्धमा धेरै टीकाटिप्पणी सुरु भएका छन् । यसैक्रममा पाकिस्तानी टोलीका ब्याट्सम्यान इमरान फराहतले अफ्रिदीलाई टोलीकै सबैभन्दा स्वार्थी खेलाडीका रूपमा आलोचना गरेका छन् । फराहतले ट्विटरमा ट्विट गर्दै भनेका छन्, ‘मेरो नजरमा अफ्रिदी टोलीकै सबैभन्दा स्वार्थी खेलाडी हुन् ।’ 

विभेदकारी कप्तान

ब्याट्सम्यान इमरानले अफ्रिदीले धेरैको क्रिकेट करिअर बिगारेको आरोप लगाएका छन् । खेलाडी तथा कप्तानका रूपमा अफ्रिदीले कहिले पनि खेलाडीलाई एकै किसिमको व्यवहार नगरेको इमरानको भनाइ छ । ‘केही समय अफ्रिदीसँग खेल्ने अवसर पाएको थिएँ, तर त्यस अवधिमा मैले उनलाई एक स्वार्थी खेलाडीका रूपमा पाएँ,’ इमरानले ट्विट गरेका छन्, ‘मसँग उनीसँग सम्बन्धित धेरै नराम्रा घटना छन्, जुन बाहिर आउँदा उनको जीवन थप बर्बाद हुन सक्छ ।’ 

इमानदार बन्ने कोसिस

२० वर्षपछि वास्तविक उमेर खुलासा गरी अफ्रिदीले खेलजगत्मै खराब छवि राखेको इमरानले जनाए । ‘पाकिस्तानी मात्र होइन, अफ्रिदीले विश्वलाई नै उमेर ढाँटे,’ इमरानले भने, ‘अब क्रिकेटबाट बिदा भइसकेपछि किन उमेरको खुलासा गर्नु परेको हो, त्यो हामीले बुझ्न सकेनौँ ।’ पाकिस्तानी टोलीमा वर्षौंसम्म क्रिकेट खेल्ने उद्देश्यले अफ्रिदीले उमेर लुकाएको इमरानले दाबी गरेका छन् । ‘त्यसवेला उमेर बताउँदा पक्कै पनि टिमबाट बाहिर पर्थे, तर वास्तविक उमेर नबताउँदा उनी लामो समयसम्म टिममै पर्न सफल भए,’ उनले भने, ‘यो एक किसिमको स्वार्थीपना हो, उनले उमेर लुकाएका कारण नै केही युवा क्रिकेटरले मौका पाउन नसकेकोजस्तो लागेको छ ।’ 

सबैलाई गाली गर्दै

अफ्रिदीले अटोबायोग्राफीमा धेरै क्रिकेटरलाई गालीगलौज गरेका छन् । पाकिस्तानका लिजेन्ड जाभेद मियाँदाद, वकार युनिस तथा भारतका बायाँहाते ब्याट्सम्यान गौतम गम्भीरलाई समेत गाली गरेका छन् । धेरैजसो आलोचकले अफ्रिदीले अटोबायोग्राफीमा अशोभनीय भाषा प्रयोग गरेकोसमेत जनाए । गम्भीरले अफ्रिदीलाई मनोचिकित्सकको सल्लाह चाहिएको भन्ने कमेन्ट्स गरेका छन् । 

बजारमा बिक्री रोक

अफ्रिदीको ‘द गेमचेन्जर’ विवादास्पद बनेपछि लाहोरको अदालतले बजारमा बिक्री–वितरण रोक लगाएको छ । विभिन्न व्यक्तिमाथि आरोप तथा विवादास्पद विषय समेटिएको पुस्तक तत्काल अर्को अन्तरिम फैसला नहुँदासम्म बजारमा नपठाउन भनी अदालतले रोक लगाएको हो ।