पर्यटनमा अथाह सम्भावना

२०७६ जेठ १ बुधबार २१:३२:००

विराट राणाले बबरमहलमा लक्जरी होटेल बबरमहल भिल्लाज सञ्चालन गरिरहेका छन् । हजुरबुबा आदित्यशमशेरको २१ रोपनी जग्गामा बुटिक होटेल चलिरहेको छ । यसमा १२ करोड हाराहारी लगानी भएको छ । हेरिटेज डिजाइनमा बनेको होटेललाई राणाकालीन फ्युजन दिन खोजिएको छ । विराटले नयाँ पत्रिकासँग व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा :

संसारभरिका धनाढ्य पर्यटक भित्र्याउन सकिने ल्याकत नेपालसँग छ । धेरै मुलुक पर्यटनबाट कायापलट भए । कृत्रिम पूर्वाधार खडा गरेरै करोडौँ संख्यामा पर्यटक भित्र््याइरहेका छन् । हामीलाई प्रकृतिले नै पर्यटक लोभ्याउने उपहार दिएको छ । आँखै अघिल्तिर हिमाल देख्न पाइन्छ । विश्वकै अग्लो सगरमाथादेखि बुद्ध जन्मिएको लुम्बिनी नेपालमै छ । हिमाल चढ्न पाइन्छ । ट्रेकिङ गरी स्वर्गीय अनुभूति हासिल गर्न सकिन्छ । रोमाञ्चक र्‍याफ्टिङ गर्न सकिने नदी छन् । बन्जी, प्याराग्लाइडिङ, जंगल सफारी अनेक पर्यटकीय उत्पादन छन् । प्रकृतिको काखमा रमाउनेका लागि नेपाल स्वर्ग नै हो । विविधता उत्तिकै छ । धार्मिक तथा सांस्कृतिक पर्यटक भित्र्याउने प्रोडक्टको कमी छैन । ऐतिहासिक तथा पुरातात्विक सम्पदाले भरिपूर्ण छ । आतिथ्य सत्कारमा रमाउने जनता छन् । सानो मुलुकमा हिमाल, पहाड र तराई छ । एक घन्टाकै दूरीमा प्रकृतिको फरक स्वाद पाउन सकिन्छ । वातावरणीय हिसाबले पनि नेपाल विश्वकै दुर्लभ मुलुक हो ।

‘माल पाएर चाल नपाउने’ उखान हाम्रै लागि बनेको छ । पर्यटकनबाट हामीले लिइरहेको लाभ नगण्य छ । अरूले मरुभूमि देखाएर करोडौँ पर्यटक भित्र्याउँदा हामी १० लाख पर्यटक भित्र्याउन पाउँदा मख्ख छौँ । अभियान चलाएर सन २०२० मा २० लाख पर्यटक भित्र्याउन बडा कठिन लागिरहेको छ । 

पर्यटकीय पूर्वाधारकै अभावले पछाडि पर्दै आइरहेको हो । पर्यटक लोभ्याउने ठाउँ छन्, आउन सजिलो छैन । अहिलेसम्म एउटै अन्तर्राष्ट्रिय विमानस्थलको भरमा छौँ, भन्न पनि लाजमर्दो छ । १० लाख पर्यटक भित्र्याउँदै एयरपोर्टले धान्न नसक्ने भयो, करोडौँ पर्यटक भित्र्याउने प्रोडक्ट भएर के गर्नु । नयाँ विमान कम्पनीले उडान भर्न पाइरहेका छैनन् । पर्यटक भेडाबाख्राझैँ छिर्नुपर्ने अवस्था छ । पर्यटक बढाउन विमानस्थलबाटै सुधारको थालनी हुनुपर्छ । अन्तर्राष्ट्रिय विमानस्थल बढाउनुपर्‍यो, भएको विमानस्थलको सेवा चुस्त हुनुपर्‍यो । बोतल जतिसुकै ठूलो भएपनि घाँटी सानो भएपछि पानी मज्जाले छिर्न पाउँदैन । पर्यटनको जतिसुकै सम्भावना भए पनि छिर्ने ढोका सानो भए पर्यटक आउन सक्दैनन् । पर्यटकलाई आकाशमा घन्टौँसम्म होल्ड गराएर विमानस्थलबाट भेडाबाख्राझैँ छिराउने अवस्था रहेसम्म पर्यटनको भविष्य कसरी उज्ज्वल देख्ने ? 

पैसा भएका नेपाली प्रशस्तै छन्, सोच भएकाको कमी छ । गाउँको गरिब युवा खाडी पस्न दुई लाख रुपैयाँको जोहो गर्न सक्छ । त्यही पैसाले यहाँ उद्यम गर्छु भन्ने सोच छैन । त्यही लगानी गर्दा विदेशमा भन्दा धेरै कमाउन सकिन्छ भन्ने आत्मविश्वास छैन ।

सडक पूर्वाधारमा पनि उत्तिकै जोड दिनुपर्छ । सार्वजनिक यातायातमा व्यापक सुधार गर्नुपर्छ । लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ, त्यहाँ अवतरण गर्ने पर्यटकलाई चितवन, काठमाडौं, पोखरा आदि गन्तव्यमा सजिलै पुर्‍याउन चौडा र चिप्ला सडक चाहिन्छ । द्रुतमार्ग निर्माण भए भैरहवा, निजगढमा झर्ने पर्यटक एक–दुई घन्टाको ड्राइभिङमा सजिलै काठमाडौं पुग्न सक्छन् । 

सरकारले सबैभन्दा पहिला पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । निजी क्षेत्रलाई निर्माण र सञ्चालनको जिम्मा लगाउनुपर्छ । पूर्वाधार जबसम्म नाफामा चल्दैनन्, तबसम्म सेवा–सुविधा राम्रो हुँदैन । निजी क्षेत्रले नाफा हेरेर सेवा–सुविधा बढाउँछ । दिल्लीको इन्दिरा गान्धी एयरपोर्ट ‘जिएमआर’को जिम्मा लगाएपछि कहाँ बाट कहाँ पुग्यो ? विकसित देशमा सामान्यतया एयरपोर्ट सरकारले चलाएको हुँदैन । हामीकहाँ सरकारले नै चलाउनुपर्ने बाध्यता भइदियो, हाम्रो उग्र राष्ट्रवादी सोचले । पूर्वाधारको अभावले प्रतिस्पर्धा हुन नसक्दा नेपालको उडान विश्वकै महँगो बनिरहेको छ । यदि नेपालले पूर्वाधार निर्माणमा जोड दिए पर्यटनबाटै फड्को मार्न सकिन्छ ।

निजी क्षेत्रको प्रयास
बल्लतल्ल दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छन् । तर, सञ्चालनमा आउने समय निश्चित छैन । तर, पनि निजी क्षेत्र उत्साहित देखिन्छ । धमाधम तारेहोटेल खुलिरहेका छन् । होटेल व्यवसायी पाहुनालाई सत्कार गर्न तयार भएर बसेका छन् । निजी क्षेत्रकै प्रयासमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य खुलिरहेका छन् । होटेलमा मात्रै झन्डै एक खर्ब रुपैयाँ लगानी हुँदै छ । 

निजी क्षेत्रले अभावका बीचमा सम्भावना खोजिरहेको छ । नेपाली पर्यटन यहाँसम्म आइपुगेको निजी क्षेत्रकै प्रयासले हो । सरकारको योगदान नगण्य छ । सम्भावना देखाइदिने र पूर्वाधारमा लगानी गर्ने व्यवसायीलाई सरकारले पुरस्कृत गर्नुपर्छ । होटेलले कमाइ गर्न थाले नाफाको साझेदार सरकार पनि बन्छ । रोजगारी बढ्छ, राजस्व बढ्छ । अर्थतन्त्र गतिशील बन्छ । दुर्भाग्य, जोखिम मोलेर लगानी गर्ने, रोजगारी सिर्जना गर्ने र राजस्वमा योगदान गर्ने निजी क्षेत्र नै सरकारबाटै प्रताडित छ । सरकारकै कारण हतोत्साहित छ । सरकारले व्यवसायीलाई सम्मान गर्नुपथ्र्यो, उत्साहित बनाउनुपथ्र्यो । सरकारी नीति ठीक उल्टो भइदियो ।

सरकार र व्यवसायीको काम 
नेपालमा २० लाख पर्यटक धान्ने होटेल बनिसकेका छन् । पर्यटक ओइरिन थाले भने अझै होटेल बढ्ने निश्चित छ । सरकारले निजी क्षेत्रलाई समेटेर पूर्वाधार विकासमा जोड दिनुपर्छ । एयरपोर्ट, सडक, सार्वजनिक यातायात, ट्रेनलगायत सुधार गरेर आन्तरिक तथा अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढाउनुपर्छ । निजी क्षेत्रले आकर्षक प्याकेज बनाएर पर्यटक तान्नुपर्छ । विश्वभर नेपालको विज्ञापन गर्न निजी क्षेत्रले सक्दैन । पर्यटन बोर्डले विश्वभर नेपाल चिनाउनुपर्छ । नेपाली प्रोडक्टको अन्तर्राष्ट्रियस्तरमा विज्ञापन गर्न तात्नुपर्छ । नेपालबारे सकारात्मक सन्देश विश्वभर फिँजाउनुपर्छ । 

राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति, बन्द, हडताल, पर्यटक ठगीलगायत विषयले नेपालबारे गलत सन्देश विश्वभर फिँजिएको छ । नेपाली व्यवसायीले पर्यटकलाई नक्कली बिरामी गराएर अन्तर्राष्ट्रिय इन्स्योरेन्ससँग ठगी गरेको काण्ड अझै सुल्झिएको छैन । निजी क्षेत्रले सेवा–सुविधा राम्रो दिने, पर्यटकलाई राम्रो व्यवहार गर्नुपर्छ । 

अनलाइन प्रणाली
राजनीतिक नेतृत्व, कर्मचारीतन्त्रमा व्यवसायीलाई हेर्ने नजर सकारात्मक छैन । फाइल तौलेर दुःख दिने परिपाटी कायम छ । सर्वत्र भ्रष्टाचार छ । माथिकै आदेशमा तलसम्म भ्रष्टाचार भइरहेको छ । भ्रष्टाचार घटाउन सबैभन्दा पहिला कर्मचारीको तलब बढाउनुपर्छ । एउटा अधिकृतले २५/३० हजार तलब पाउँछ । त्यो तलबले परिवार पाल्न सक्दैन, अनि कसरी कमाउन सकिन्छ भनेर तल्लिन हुन्छ । 
अर्को कर्मचारी–सेवाग्राही सम्पर्क कम गराउने गरी अनलाइन प्रणालीको विकास गर्नुपर्छ । कर्मचारी–सेवाग्राही सम्पर्क कम भएपछि लेनदेन स्वतः घट्छ । कर्मचारी फेरिए पनि व्यवसायीलाई समस्या हुँदैन । कर्मचारीलाई जी, हजुर गरिरहनु पर्दैन । फाइल अड्काएर बार्गेनिङ गर्ने प्रवृत्ति कम हुन्छ । 

अरूले मरुभूमि देखाएर करोडौँ पर्यटक भित्र्याउँदा हामी १० लाख पर्यटक भित्र्याउँदा मक्ख छौँ । अभियान चलाएर सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन बडा कठिन लागिरहेको छ । 

भिजिनरी भएन
प्रायः युवा बाहिर जान खोज्छन् । यहाँ अवसर नभएको ठान्छन्, बिदेसिन्छन् । उद्यमशील बन्ने वातावरण नै बनेन । वातावरण निर्माणमा सरकारकै भूमिका निर्णायक हुन्छ । श्रमको सम्मान पनि भएन । रोजगारी सिर्जना गर्ने निजी क्षेत्रले हो । निजी क्षेत्रले जति लगानी गर्छ, जति प्रगति गर्छ त्यति रोजगारी सिर्जना हुने हो । रोजगारी सिर्जना गर्नका लागि विदेशी लगानी दिल खोलेर भित्र्याउनुपर्छ । स्वदेशी लगानीलाई पनि उत्तिकै महत्व दिएर परिचालन गर्नुपर्छ । विदेशी मुलुकमा लगानीकर्ता आकर्षित गर्न उदार कानुन बनाइएको हुन्छ । सरकार नै उदार बनिदिन्छ । भारत, चीन, दक्षिण कोरियालगायत विकसित मुलुक विदेशी लगानीबाटै सम्पन्न भएका हुन् । ती मुलुकमा लगानीकर्ताले सरकारसँग डिल गर्नु पर्दैन । त्यहाँको सरकारले बाटो खुला गरिदियो । लगानीकर्ता ओइरिए । कमाएको पैसा पनि सजिलो लैजान सक्छन् । यहाँ लगानी भित्र्याउन प्रक्रियागत झन्झट छन् । राजनीति र कर्मचारीतन्त्रमा पहुँच भएको बिचौलियाको सहयोग नलिई प्रक्रिया पुर्‍याउन सकिन्न । अनि त, लगानीकर्ता सुरुमै हतोत्साहित भइसक्छ ।

युवासँग पुँजी छ, सोच छैन
पैसा भएका नेपाली प्रशस्तै छन्, सोच भएकाको कमी छ । गाउँको गरिब युवा खाडी पस्न दुई लाख रुपैयाँको जोहो गर्नसक्छ, ऋण खोजेर होस् वा बारी बेचेर होस्, दुई–तीन लाख म्यानपावरलाई बुझाएर खाडी पस्छ । मध्यमवर्ग र उच्चवर्गले लाखौँ रुपैयाँ खर्चिएर विकसित मुलुक गइरहेका छन् । विदेशी शिक्षामा लाखौँ रुपैयाँ खर्चिरहेका छन् । तर, त्यही पैसाले यहाँ उद्यम गर्छु भन्ने सोच छैन । त्यही लगानी गर्दा विदेशमा भन्दा धेरै कमाउन सकिन्छ भन्ने आत्मविश्वास छैन । 

यसमा सरकारको पनि दोष छ । उद्यममैत्री वातावरण बनाएर युवालाई यहीँ उद्यम गर्न प्रेरित गर्न सोचिएको छैन । उद्यमशीलता विकास गरे लगानीविनै साझेदार बन्न पाउने अवसर पनि छ । जब सय रुपैयाँ नाफा गर्दा ३३ रुपैयाँ सरकारलाई जान्छ भने सोहीबराबरको सुविधा त राज्यबाट पाउनुपर्‍यो नि । सेवा–सुविधा पाए सरकारसँग आम्दानी सेयर गर्न केही समस्या छैन । तर, यहाँ सरकारले व्यवसायीको घाँटी न्याकेर सास फेर भनिरहेको छ ।