
बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर साताको कारोबार बन्द भएको छ। नेप्से ११.७३ अंकले बढेर एक हजार आठ सय ५२.७७ बिन्दुमा कायम भएको छ।
‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.४५ प्रतिशतले बढेको छ। आज फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि सामान्य अंकले बढेका छन्।
बिहीबार कारोबारमा आएकामध्ये एक सय ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य घटेको छ। नेप्सेका १३ मध्ये व्यापारबाहेक सबै उपसमूहको सूचकमा समेत वृद्धि देखिएको छ।
बिहीबार व्यापार उपसमूह ०.५० प्रतिशतले घट्दा निर्जीवन बिमा उपसमूह सर्वाधिक २.११ प्रतिशतले बढेको छ। हाइड्रोपावर उपसमूह १.०३ प्रतिशतले बढेको छ भने बाँकी उपसमूहहरूमा पनि एक प्रतिशतभन्दा कमको वृद्धि भएको छ।
नेप्सेका अनुसार आज ९५ लाख पाँच हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा समेत वृद्धि भएको छ। बुधबार एक अर्ब नौ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
नेप्से दोहोरो अंकले बढ्दा त्रिशूली जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, समाज लघुवित्त, सिवाइसी नेपाल लघुवित्त र नबिल ब्यालेन्स्ड फन्ड–२ को मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेका छन्।
समग्रमा बजार बढे पनि आज ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले सर्वाधिक ७.८१ प्रतिशतले गुमाएका छन्। मन्दाकिनी हाइड्रोपावर र विजय लघुवित्तको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटेको छ।