१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अहमद तवैज
२o८१ बैशाख २१ शुक्रबार o८:४३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण

किसिन्जरको नोबेल शान्ति पुरस्कारमाथि प्रश्न

Read Time : > 2 मिनेट
अहमद तवैज
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४३:oo

अमेरिकी पूर्वसुरक्षा सल्लाहकार एवं विदेशमन्त्री हेनरी किसिन्जरले सय वर्ष बाँचेर ‘कुनै पनि दुष्ट न सय वर्ष टिक्न सक्छ, न कुनै शरीरले झेल्न सक्छ’ भन्ने स्पेनी भनाइलाई गलत साबित गरेका छन् । सय वर्ष पूरा गरेर अन्ततः यही २९ नोभेम्बरका दिन किसिन्जरको मृत्यु भयो । मृत्युपश्चात् विश्वका विभिन्न सञ्चारमाध्यम उनको मरणोपरान्त प्रशंसाले भरिएका छन् र केहीले भने उनको प्रशंसामा ‘विवादास्पद’ छवि पनि उल्लेख गरेका छन् । किसिन्जरका अत्याचारलाई धोइपखालीको प्रयास भइरहँदा हामीले उनको वास्तविकता बिर्सनुहुँदैन ।  

येल विश्वविद्यालयका इतिहासकार ग्रेग ग्य्रान्डिनको पुस्तक ‘किसिन्जर्स स्याडो’अनुसार किसिन्जर सन् १९६९ देखि १९७७ को अमेरिकी विदेशमन्त्री र सुरक्षा सल्लाहकार पदमा रहँदा ३० देखि ४० लाख मानिसको हत्याका लागि प्रत्यक्ष रूप जिम्मेवार थिए । सोभियत संघलाई नियन्त्रणमा लिने र विश्वभर कम्युनिस्ट प्रभाव रोक्ने अमेरिकी सूत्रधारका रूपमा किसिन्जर परिचित छन् । यसका लागि उनले ‘कूटनीति होइन, बमबारी गर्नुपर्छ’ भन्ने नीति अघि सारेका थिए । र, यसले आधुनिक इतिहासकै नृशंसमध्येका बमबारी निम्त्यायो ।   

हेनरी किसिन्जरको विरासतले अमेरिकी साम्राज्यवादी नीति सही हो भन्ने स्थापित गराइदिएको छ

यो नीतिलाई सबैभन्दा पहिला भियतनाम युद्धमा प्रयोग गरियो । राष्ट्रपति रिचर्ड निक्सनका पालामा सुरक्षा सल्लाहकार हुँदा उनले भियतनाम मात्रै नभई छिमेकी कम्बोडियामा समेत अन्धाधुन्ध बमबारी गर्न उक्साएका थिए । खुलासा भएको पेन्टागनको गोप्य प्रतिवेदनअनुसार सन् १९६९ को सैन्य आक्रमणमा किसिन्जर आफैँले तीन हजार आठ सय ७५ हवाई हमलाको स्वीकृति दिएका थिए, जहाँ कम्बोडियामा पाँच लाख ४० हजार टन बम खसालिएको थियो ।

आजका मितिमा पनि त्यसवेला विस्फोटन नभएका बमका कारण निर्दोष मानिसले ज्यान गुमाइरहेका छन् । यी अन्धान्धुन्ध बमबारीले कम्युनिस्टलाई रोक्न सकेन, बरु तिनलाई भियतनाम र कम्बोडियाको सत्तामा पुग्न सहज बनाइदियो । कम्बोडियाको खमेररुज सत्तामा पुगेपछि त्यहाँ १५ देखि २० लाख मानिसको नरसंहार भयो । कम्बोडियाली जनताको पीडालाई देखेर चर्चित अमेरिकी सेफ एवं टेलिभिजन कार्यक्रम सञ्चालक एन्थोनी बाउर्डेनले ‘यदि तपाईं कम्बोडिया पुग्नुहुन्छ भने हेनरी किसिन्जरलाई हातैले भए पनि पिटेर हत्या गरिदिऊँ भन्ने सोचबाट आफूलाई रोक्न सक्नुहुन्न’ भनेर लेखेका थिए । 


सन् १९७३ मा दक्षिणपूर्वी एसियाको युद्धमा निर्वाह गरेको भूमिकाका लागि किसिन्जरलाई नोबेल शान्ति पुरस्कार दिने घिनलाग्दो निर्णय भयो । यो त्यही युद्ध हो, जहाँ किसिन्जरले राष्ट्रपति निक्सनलाई गोप्य रूपमा अमेरिका र भियातनामबीचको शान्ति सम्झौता बिथोल्न लगाएका थिए । यो त्यही युद्ध हो, जहाँ उनले अमेरिकी विजयका लागि थप बल प्रयोग नगरेकोमा पश्चात्ताप व्यक्त गरेका थिए । यो शान्ति पुरस्कार किसिन्जरबाट पीडित तमाम मानिसमाथि लगाइएको चड्कन हो र पश्चिमा मुलुकले आफ्ना युद्ध अपराधीलाई जवाफदेही बनाउँदैन भन्ने एक दृष्टान्त पनि हो । 

किसिन्जरका अपराधको फेहरिस्त भियातनाम र कम्बोडियामा मात्रै सीमित छैनन् । सन् १९७० को सुरुवाती वर्षमा दक्षिण एसियामा सोभियत संघतर्फ ढल्किएको भारतले अमेरिकी साझेदार पाकिस्तानलाई युद्धमा तहसनहस नपरोस् भन्नका लागि किसिन्जरले इस्लामावादलाई सहयोग गरेका थिए । उनले इस्लामावादको सैन्य बललाई तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश) का बंगाली नागरिकको नरसंहार गर्न हतियारबन्द जहाज पठाएका थिए । 

त्यसैगरी सन् १९७५ मा पूर्वी टिमोरको कम्युनिस्टनिकट फ्रेटिलिन सरकार ढाल्न इन्डोनेसियालाई अतिक्रमण गर्न सहयोग गरेका थिए । त्यसक्रममा दुई लाखभन्दा बढीको नरसंहार भएको थियो । सन् १९९९ सम्म इन्डोनेसियाले गरेको अतिक्रमणमा प्रशान्त क्षेत्रको करिब २० प्रतिशत जनसंख्याको सफाया भएको थियो ।

ल्याटिन अमेरिकी क्षेत्रमा भएका दक्षिणपन्थी शक्ति र तिनका कु एवं गम्भीर मानवअधिकार उल्लंघनमा पनि किसिन्जरको समर्थन थियो । सन् १९७३ मा चिलीको निर्वाचित राष्ट्रपति साल्भाडोर एलेन्देको सरकारलाई अपदस्थ पार्न र त्यसको तीन वर्षपछि अर्जेन्टिनाको इसाबेल पेरोनको सरकार ढाल्नमा किसिन्जरकै भूमिका थियो । सन् २०१६ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले अर्जेन्टिनामा भएको ‘फोहरी युद्ध’का लागि खेद व्यक्त गरेका थिए । तर, दुई महिना बित्न नपाउँदै ओबामा प्रशासनले युद्धका सूत्रधार किसिन्जरलाई ‘प्रतिष्ठित जनसेवा’ पुरस्कार दिएको थियो ।    

किसिन्जरले मध्यपूर्वमा पनि शान्ति बिथोलेका थिए । मस्कोले अघि सारेको इजरायल–अरबबीचको शान्ति सम्झौता मात्रै नभई वासिंगटनले प्रस्ताव गरेको शान्ति सम्झौतासमेत बिथोलेका थिए । इजरायलका कट्टर समर्थक भए पनि किसिन्जर यहुदीप्रति अमानवीय थिए । उनले राष्ट्रपति निक्सनलाई एकपटक सोभियत संघले आफ्नो मुलुकको ग्यास च्याम्बरमा त्यहाँका यहुदीलाई डढाए पनि त्यो अमेरिकाको चासो नहुने बताएका थिए । कार्यकाल समाप्तिपछि पनि उनले आफ्ना पुस्तक, अन्तर्वार्ता र अमेरिकी अधिकारीलाई दिने सुझाबमा हत्या र विनाशका लागि प्रोत्साहन गर्थे ।  

एक इराकीका नाताले इराकविरुद्धको बुस प्रशासनको युद्धमा खेलेको भूमिकाका कारण म किसिन्जरलाई अपराधी देख्छु । बुसले किसिन्जरकै ‘विस्मय र आघात’ सुझावलाई रणनीति अपनाएर इराकी नागरिकमाथि अन्धाधुन्ध बमबारी गरेका थिए । मृत्यु हुनुभन्दा केही समयअगाडि पनि किसिन्जरले गाजामाथि भइरहेको आततायी युद्धको समर्थनमा बोलेका थिए ।  

 किसिन्जरको विरासतले अमेरिकी साम्राज्यवादी नीति सही हो भन्ने बनाइदिएको छ । अमेरिकी ‘राष्ट्रिय स्वार्थ’का निम्ति लाखौँ मानिसको ज्यान लिनु पनि जायज हो भन्ने बनाइदिएको छ । अहिले हामी गाजामा यही नीतिको साक्षी बनिरहेका छौँ । विडम्बना, यत्रो अपराध गर्दा पनि किसिन्जरको मरणोपरान्त स्तूति गाइँदै छ ।
(तवैज स्वतन्त्र पत्रकार एवं सिनेकर्मी हुन्) अल जजिराबाट
 

ad
ad