मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Tuesday, 17 December, 2024
विनय कँडेल
२o८o मङ्सिर १८ सोमबार ११:३६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अपांगता, उपचार र पुनर्स्थापना

पुनर्स्थापना सेवाले अपांगता भएका व्यक्तिको जीवन सरल बनाउन, जीविकोपार्जनको व्यवस्था मिलाउन र सामाजमा सम्मानित जीवन जिउन सहयोग पुर्‍याउँछ

Read Time : > 2 मिनेट
विनय कँडेल
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार ११:३६:oo

हरेक वर्ष ३ डिसेम्बरमा अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइन्छ । यस वर्ष पनि नेपाललगायत विभिन्न देशमा यो कार्यक्रम मनाइयो । यस दिनको मुख्य उद्देश्य समाजका हरेक तहमा अपांगता भएका व्यक्तिहरूको अधिकार र हित प्रवर्द्धन गर्नु र राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सबै पक्षमा अपांगता भएका व्यक्तिको अवस्थाबारे चेतना जगाउनु हो । 

विद्यमान स्थिति :  विश्व जनसंख्याको १५ प्रतिशतभन्दा बढी (१.३ बिलियन) व्यक्तिमा कुनै न कुनै प्रकारको अपांगता रहेको तथ्य प्रकाशित भएको छ । यीमध्ये ८० प्रतिशत अपांगता भएका व्यक्तिहरू कम विकसित मुलुकमा रहेको पनि आकलन गरिएको छ । ६० वर्षमाथिका व्यक्तिको कुल जनसंख्याको ४५ प्रतिशत व्यक्तिमा अपांगता रहेको तथ्यांक विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरेका छन् ।

महिला तथा बालबालिकाको कुरा गर्ने हो भने हरेक पाँचजनामा एकजना महिला र हरेक १० मा एकजना बालबालिका जीवनको कुनै एक समयमा अपांगता भोग्न बाध्य भइरहेका देखिन्छन् । नेपालको जनगणना ०७८ ले नेपाली जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता रहेको देखाएको छ । यद्यपि, अपांगताको सही पहिचानको कमी, समान परिभाषा नहुनु र अपांगतालाई सामाजिक खेदको विषयका रूपमा हेरिने गलत प्रवृत्तिजस्ता कारणले गर्दा सही तथ्यांक आउन नसकेको विज्ञहरू बताउँछन् ।

पुनर्स्थापना सेवाले अपांगता भएका व्यक्तिको जीवन सरल बनाउन, जीविकोपार्जनको व्यवस्था मिलाउन र सामाजमा सम्मानित जीवन जिउन सहयोग पुर्‍याउँछ

अपांगता र पुनर्स्थापना :  नेपाल सरकारको अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले अपांगताको वर्गीकरण दुई किसिमले गरेको छ । पहिलो, शारीरिक अंग वा प्रणालीका आधारमा १० किसिम र दोस्रो अशक्तताको गम्भीरताका आधारमा चार किसिम । अपांगता स्वास्थ्यसँग मात्र सम्बन्धित नरही शिक्षा, सीप विकास र रोजगारी, सुरक्षा व्यवस्था, महिला तथा बालबालिकाको अधिकार, लैंगिक समानता, सामाजिक सुरक्षा र मनोरञ्जन आदिसँग समेत प्रत्यक्ष सम्बन्ध राख्ने हुनाले यसलाई सामाजिक विषयका रूपमा हेर्नुपर्ने तर्क विश्वभर यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले सुझाएका छन् ।

नेपालमा अपांगताको पहिचान गरी अशक्तता गम्भीरताका आधारमा चार किसिमको अपांगता पहिचानपत्र वितरण गर्ने व्यवस्था कायम छ । उक्त पत्रका आधारमा अपांगता भएका व्यक्तिले विभिन्न सुविधा पाउने व्यवस्थासमेत छ । जस्तै, सामाजिक सुरक्षा भत्ता, बिमा, उपचारका सहुलियत, सरकारी सेवामा प्राथमिकता आदि । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अनुसार पुनर्स्थापना सेवा भन्नाले अपांगता भएका व्यक्तिलाई समाजमा सक्रिय जीवन निर्वाह गर्न सक्षम हुने गरी प्रदान गरिने चिकित्सकीय सेवा, जीवनोपयोगी व्यावसायिक तथा सीपमूलक तालिम, सहायक सामग्री औषधाेपचार, नियमित परामर्श तथा शैक्षिक र आर्थिक कार्यक्रम भन्ने बुझिन्छ । अपांगता भएका व्यक्तिलाई फिजियोथेरापी, सहायक सामग्री, मनोसामाजिक परामर्श तथा व्यावसायिक तालिमको जीवनभर आवश्यकता पर्छ ।

राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ले पुनर्स्थापना तथा परामर्श सेवा सर्वसुलभ र पहुँचयोग्य बनाउन संघ, प्रदेश र स्थानीय तहमा स्थापना गर्ने उल्लेख गरेको छ । पुनर्स्थापना सेवाले अपांगता भएका व्यक्तिको दैनिक जीवन सरल बनाउन, जीविकोपार्जनको व्यवस्था मिलाउन र समाजमा सम्मानित जीवन जिउन सहयोग पुर्‍याउँछ । फिजियोथेरापी सेवा अपांगता भएका व्यक्तिको पुनर्स्थापनाका लागि महत्वपूर्ण पाटो हो जुन हरेक किसिमका अपांगता भएका व्यक्तिलाई आवश्यक हुन्छ । फिजियोथेरापीद्वारा गरिने दुखाइ व्यवस्थापन, मांसपेशी सशक्तीकरण, गमनशीलता प्रशिक्षण आदिद्वारा दैनिक जीवनका क्रियाकलाप गर्न सहयोग पुग्छ ।

आधुनिक चिकित्सा प्रणालीको अभिन्न अंग फिजियोथेरापी सेवा अस्पताल, निजी पुनर्स्थापना केन्द्र, मेडिकल कलेज, खेलकुद क्लब आदिमा केही हदसम्म उपलब्ध भए पनि अपांगता भएका व्यक्तिका लागि सीमित सरकारी तथा गैरसरकारी संस्थाद्वारा प्रदान गरिँदै आएको छ । यस विषयमा फिजियोथेरापी सेवाको पहुँच बढाउन योग्य जनशक्तिको उत्पादन, रोजगारीको सुनिश्चितता, सरकारी पुनर्स्थापना केन्द्रको स्थापना गरिनुपर्छ ।

यद्यपि, नेपाल सरकारले गरेका केही क्रियाकलाप सराहनीय छन् । अपांगता र पुनर्स्थापनासम्बन्धी नेपाल सरकारले मेडिकल अफिसर र अन्य स्वास्थ्यकर्मीलाई दिने तालिम विश्वकै नमुना मानिन्छ । यसैगरी, सहायक सामग्रीको प्राथमिकता सूची तयार गर्ने नेपाल दोस्रो राष्ट्र हो । हालसालै बन्दै गरेको पुनर्स्थापनासम्बन्धी राष्ट्रिय रणनीति पनि नेपाल सरकारको पुनर्स्थापनाप्रति बलियो प्रतिबद्धता हो ।

यस वर्षको लक्ष्य :  संयुक्त राष्ट्रसंघद्वारा गरिएको अपांगता र विकास प्रतिवेदन, २०२३ को प्रारम्भिक निष्कर्षमा अपांगता भएका व्यक्तिका लागि दिगो विकासका लक्ष्य पूरा गर्नमा अझै कठिनाइ देखिन्छन् । अतः सन् २०२३ को अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस ‘दिगो विकासका लक्ष्य पूरा गर्न अपांगता भएका व्यक्तिका लागि र अपांगता भएका व्यक्तिद्वारा एकीकृत कार्य’ भन्ने मूल नाराका साथ मनाउने संयुक्त राष्ट्रसंघद्वारा घोषणा गरिएको थियो ।

नेपालमा पनि सरकारी तथा गैरसरकारी संघसंस्थाद्वारा यही नारा र उद्देश्यका साथ अपांगता भएका व्यक्तिसम्बन्धी चेतना जगाउने र उनीहरूका हक र अधिकार सुनिश्चित गराउने अवधारणाले विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो । यस्ता कार्यक्रमलाई निश्चित दिवसमा मात्र सीमित नगरी निरन्तर सञ्चालन गरिनु जरुरी छ । 

(नेपाल फिजियोथेरापी संघका महासचिव कँडेल वीर अस्पतालको फिजियोथेरापी युनिटका प्रमुख हुन्)