१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Wednesday, 26 June, 2024
२o८o मङ्सिर १८ सोमबार o७:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइपिएल अक्सनमा १ हजार १ सय ६६ खेलाडी

२०२४ को आइपिएल अक्सनमा भारतबाट सर्वाधिक आठ सय ३० र विदेशी तीन सय ३६ खेलाडीको नाम दर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार o७:२६:oo

यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)को खेलाडी अक्सन १९ डिसेम्बरमा दुबईमा हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले अक्सनमा सहभागी प्रत्येक फ्रेन्चाइज टोलीलाई पाँच करोड भारु थप खर्चन पाउने बताएको छ । गत वर्षको सिजनमा फ्रेन्चाइज टोलीलाई ९५ करोड भारु मात्र खर्चन पाउने नियमावली बनाएको थियो । बिसिसिआईले खेलाडीमाथि धेरै बोली लगाउन सहज बनाउन नै थप पाँच करोड भारु खर्चन अनुमति दिएको हो । यसपटकको अक्सनमा एक हजार एक सय ६६ खेलाडीले रजिस्टर गरेका छन् । 

जसमा आठ सय ३० भारतीय र तीन सय ३६ विदेशी खेलाडी छन् । विदेशी खेलाडीको सूचीमा इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चरले आफ्नो नाम समावेश गरेका छैनन् । टी–२० फम्र्याटकै राम्रा खेलाडी मानिने मिचेल स्टार्क, प्याट क्युमिन्स, ट्रेभिस हेड, जेराल्ड कुट्ली तथा रचिन रविन्द्रा यसपटक अक्सनमा परेका छन् । भारतका हर्षल पटेल, शार्दूल ठाकुर, उमेर यादव र जयदेव पनि अक्सनमै रहेका छन् । भारतीय मिडियाका अनुसार यी विश्वचर्चित खेलाडी कम्तीमा १० करोड भारुमा बिक्न सक्छन् । 

२५ खेलाडीको प्रारम्भिक मूल्य दुई करोड भारु
आइपिएलमा आबद्ध फ्रेन्चाइज टोलीहरूले अक्सनअगाडि खेलाडीसँग सम्झौता गरेका छन् । कतिपय टोलीले खेलाडीको नवीकरण गरेनन् । धेरैजसो टोलीले खेलाडीसँग सम्झौता गर्दा नाम चलेका ७७ खेलाडी अक्सनमा परेका हुन् । जसमध्ये ३० विदेशी खेलाडीले आफ्नो नाम अक्सनमा राखेका छन् । अहिले प्रत्येक टोलीसँग दुई अर्ब ६२ करोड ९५ लाख भारु सञ्चित बजेट छ । 

बिसिसिआईले २५ खेलाडीको सुरुवाती बोली नै दुई करोड भारु राखेको छ । यसमा सात अस्ट्रेलियन र चार भारतीय खेलाडीको सुरुवाती मूल्य नै दुई करोड भारु हुनेछ । बिसिसिआईका अनुसार क्युमिन्स, हेड, स्टार्क, जोस हेजलउड, स्टिभ स्मिथ र सिन एबोटको प्रारम्भिक बोली नै दुई करोड भारु राखिएको छ । यसैगरी भारतका हर्षल, केदार ज्यादव, शार्दूल र उमेशको न्यूनतम मूल्य नै दुई करोड भारु रहेको छ । 

यसैगरी, २० खेलाडीको औसत मूल्य नै एक करोड ५० लाख भारु रहेको छ । १६ खेलाडीले सुरुवातमै एक करोड भारु पाउनेछन् । त्यसपछि एक हजार एक सय पाँच खेलाडीको प्रारम्भिक मूल्य २० देखि ९५ लाख भारु राखिएको बिसिसिआईले जनाएको छ । 

एसोसिएटबाट ४५ खेलाडी
१९ डिसेम्बरमा हुने आइपिएल अक्सनमा एसोसिएट राष्ट्रका ४५ खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन् ।एसोसिएटमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, युएई र अमेरिकाबाट छन् । आइपिएलले ती एसोसिएट राष्ट्रका खेलाडीको नाम सार्वजनिक गरेको छैन । 

आइपिएलले केही दिनमै सबै खेलाडीको नाम सार्वजनिक गर्नेछ । अक्सनमा जानका लागि खेलाडीहरू सर्टलिस्टमा पर्नुपर्ने हुन्छ । आइपिएलले अक्सनमा मूल्य लाग्न सक्ने खेलाडीलाई मात्रै सर्टलिस्टमा राख्ने गर्छ । अहिलेसम्म नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र सर्टलिस्टमा परेका थिए । 

ad
ad
ad
ad