१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २१:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

कोशीका तीन मन्त्रीले जिम्मेवारी पाए, सभामुख चयनपछि कोशी सरकारलाई पूर्णता दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २१:२८:oo

कोशी प्रदेशमा नियुक्तिको डेढ महिनापछि तीनजना मन्त्रीले जिम्मेवारी पाएका छन् । प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा कांग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेतीले पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

प्रदेश सभाबाट बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएसँगै तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको हो । 

२७ असोजमा कांग्रेसबाट नियुक्त भएका शमशेर तथा १७ कात्तिकमा नियुक्त भएका माओवादीका गणेश उप्रेती र कमलप्रसाद जबेगू जिम्मेवारीविहीन थिए । 

यसअघि एमालेका रामबहादुर मगर २२ दिन विनाविभागीय मन्त्री भएर बिदा भएका थिए । मुख्यमन्त्री कार्की गठबन्धन दलबाट माओवादी र एकीकृत समाजवादीलाई भित्र्याएपछि एमालेले मगरलाई फिर्ता बोलाएको थियो । 

सभामुख चयनपछि कोशी सकारलाई पूर्णता दिने
२७ असोजमा मुख्यमन्त्री बनेका केदार कार्कीसँग अझै पाँच मन्त्रालय छन् । उनीसँग मुख्यमन्त्री कार्यालयबाहेक आर्थिक मामिला, उद्योग, खानेपानी, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय छ । तर, सरकारले पूर्णता पाउन अझै  समय लाग्नेछ । 

एमाले सरकारबाट बाहिरिएपछि सत्तागठबन्धनभित्र अब सभामुख कसलाई बनाउने भन्नेमा सहमति जुटेको छैन । तत्कालीन सभामुख बाबुराम गौतमले १६ साउनमा पदबाट राजीनामा दिएपछि कोशीमा सभामुख पद खाली छ । 

गठबन्धनले सभामुखको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । उपसभामुख सिर्जना दनुवार विदेश भ्रमणमा रहेकीले स्वदेश फर्किएलगत्तै सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने मुख्यमन्त्री केदार कार्कीले बताए । 

‘मन्त्रिपरिषद्लाई पूर्णता दिने मेरो दायित्व हो, चाँडै पूर्णता पाउँछ,’ उनले भने । गठबन्धनले राप्रपालाई सभामुख दिएर कोशी प्रदेशको सत्तालाई टिकाउने रणनीति पनि बनाएको छ । कांग्रेस सांसद भूपेन्द्र राईले पनि राप्रपालाई गठबन्धनमा ल्याउने गरी छलफल भएको बताए । 

‘प्रधानमन्त्रीज्यू विदेश भ्रमणमा हुनुहुन्थ्यो । उहाँ आउनुभएको छ । अब कुन दलले सभामुख पाउने टुंगो लाग्छ । उपसभामुख विदेश भ्रमणमा हुनुहुन्छ । उहाँ आएपछि सभामुख निर्वाचनको मिति तोकिन्छ,’ भने, ‘कोशीको गठबन्धनमा राप्रपालाई पनि सहभागी गराउने गरी छलफल भएको छ । छलफल सकारात्मक छ ।’

९३ सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनसँग ठ्याक्कै बहुमत पुग्ने ४७ सदस्य मात्र छन् । त्यसैले गठबन्धनले ६ सदस्य रहेको राप्रपालाई गठबन्धनमा समावेश गर्न कसरत गरिरहेको हो । 

एक वर्षसम्म सरकार बन्ने र ढल्ने परिस्थितिले गुज्रिएको कोशीमा २७ असोजमा एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । तर, सरकारमा गठबन्धनको प्रवेशसँगै एमाले सत्ताबाट बाहिरिएको छ । यद्यपि, सरकारलाई दिएको विश्वासको मत भने एमालेले कायमै राखेको छ । 

ad
ad