
नेकपा एमाले मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित जिल्ला कमिटी चयन प्रक्रियाप्रति असहमति जनाउँदै एमाले मुगुसम्बद्ध १० विभिन्न भ्रातृ संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।
९ गतेबाट जारी एमाले मुगुको जिल्ला अधिवेशन सहमति जुट्न नसकेको भन्दै १४ गते राति अध्यक्षमण्डलले जिल्ला कमिटी घोषणा गरेको थियो।
अध्यक्षमण्डलको घोषणा अलोकतान्त्रिक, अवैधानिक र टीका प्रथाबाट चयन भएको तथा जिल्ला प्रतिनिधिहरूलाई सहमतिका लागि छलफल गर्न र मताधिकारबाट वञ्चित गरेको भन्दै भ्रातृ संगठनले असहमति जनाएका हुन्।
‘बहुमत जिल्ला प्रतिनिधिहरूको समर्थन रहेका डम्बरबहादुर रावललाई अध्यक्ष घोषणा गर्न र लोकतान्त्रिक विधि, प्रक्रियाभन्दा बाहिर गएर अध्यक्षमण्डलले घोषणा गरेको जिल्ला कमिटी खारेज गर्न नेकपा एमाले केन्द्रीय समिति माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
संयुक्त प्रेस विज्ञप्तिमा नेकपा एमालेको नेपाल सांस्कृतिक संघ मुगुका अध्यक्ष विर्खबहादुर मल्ल, नेपाल खेलकुद महासंघ मुगुका अध्यक्ष राजकुमार भाम, मानव अधिकार एलाइन्सका अध्यक्ष पहलमान रोकाया, उत्पीडित जातीय मोर्चाका अध्यक्ष हृदयसिंह दमाईं, राष्ट्रिय युवा संघ मुगुका अध्यक्ष नेत्रजंग रावल, अखिल नेपाल किसान महासंघ मुगुका अध्यक्ष भूमिचन्द्र कामी, नेपाल बैंक एसाेसिएसन मुगुका अध्यक्ष राजेन्द्र मल्ल, प्रेस चौतारीका केन्द्रीय सदस्य जीवन सेजुवाल, नेपाल बुद्धिजीवी परिषद् मुगु अध्यक्ष सुशीलकुमार भाम र नेपाल राष्ट्रिय शिक्षक संगठन मुगुका अध्यक्ष कृष्णबहादुर भामले हस्ताक्षर गरेका छ्न्।
नेकपा एमाले कर्णाली प्रदेश समितिका अध्यक्ष गुलावजंग शाहको नेतृत्वमा अध्यक्षमण्डल गठन भएको थियो। निर्वाचन कमिटीले तोकेको निर्वाचन तालिका घर्केको र सहमति पनि हुन नसकेको भन्दै अध्यक्षमण्डलले पूर्णबहादुर रोकायालाई अध्यक्ष, रत्नसिंह विष्ट उपाध्यक्ष, सुरेन्द्रबहादुर मल्ल सचिव तथा मदन बानियाँ र होइजाली विकलाई उपसचिवसहित ७१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो।
अध्यक्ष पदका आकांक्षी डम्बरबहादुर रावलले आफ्नो पक्षमा दुई सय ५० जना जिल्ला प्रतिनिधिले गरेको दस्तखतसहित समर्थन निर्वाचन कमिटी र अध्यक्षमण्डलले नबुझेको आरोप लगाएका छन्। एमाले मुगुको नवौँ जिल्ला अधिवेशनमा ३७५ जना जिल्ला प्रतिनिधि रहेका थिए।