पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीमा बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ। पूर्वतिर जाँदै गरेको ना.५ख ८७०० नम्बरको बसको ठक्करबाट मोहन्याल गाउँपालिका– ७ का ३७ वर्षीय डम्बर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
लम्कीचुहा नगरपालिका– २ गणेशपुर चोकमा बिहीबार बेलुकी पैदलयात्रा गरिरहेका विष्ट बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। स्थानीय लालरत्न मेडिकलबाट थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएका विष्टको उपचारका क्रममा बिहीबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनापछि मृतकका आफन्त र स्थानीयले बसचालकलाई कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै लम्कीमा राजमार्ग अवरुद्ध गरेर दिनभर प्रदर्शन गरेका हुन्। राजमार्ग खुलाउने क्रममा आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडपसमेत भयो। पीडित पक्षले राजमार्ग अवरुद्ध गर्ने र प्रहरीले बलपूर्वक खोल्ने प्रयास गरेपछि लम्की दिनभर तनावग्रस्त बनेको हो।
भिड तितरबितर गरेर राजमार्ग खुलाउने क्रममा प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए। उनले अहिले राजमार्ग सञ्चालन गरिएको र पीडित पक्षसँग वार्ता भइरहेको बताए।
झडपका क्रममा दुईजना सामान्य घाइते भएकाे बताइएको छ। प्रहरी निरीक्षक बस्यालले झडपका क्रममा एकजनालाई नियन्त्रणमा लिइएको बताए। दुर्घटनाग्रस्त बसका चालकलाई पनि नियन्त्रणमा लिइएको लम्की प्रहरीले जनाएको छ।