१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर १४ बिहीबार १९:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘याक अट्याक माउन्टेन बाइक रेस’ सरकारी तहबाटै सञ्चालन गर्नुपर्छ : उपसभामुख राना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर १४ बिहीबार १९:२१:००

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले ‘याक अट्याक माउन्टेन बाइक रेस’ सरकारी तहबाटै सञ्चालन गर्नुपर्ने बताएकी छिन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा बिहीबार ‘याक अट्याकः वल्डर्स हाइयस्ट अल्टिच्युड माउन्टेन बाइक रेस’को टोलीसँगको छलफलमा उपसभामुख रानाले अब सरकारी तहबाटै खेल सञ्चालन गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताइन्।

माउन्टेन बाइक रेसको टोलीले सिंहदरबारमा उपसभामुख रानासहित शिक्षा समिति सभापति भानुभक्त जोशी, दिगो विकास समिति सभापति प्रकाश पन्थ, सदस्यहरू दीपा शर्मा, बद्री पाण्डे, संघीय संसद्का महासचिव डा. भरतराज गौतमलगायतलाई याक अट्याक माउन्टेन बाइक रेसका बारेमा ब्रिफिङ गरेको थियो।

टोलीको ब्रिफिङपछि उपसभामुख रानाले आफू पनि माउन्टेन बाइक राइडर भएको भन्दै नेपालको पर्यटन, साहसिक खेल र समग्र अर्थतन्त्रमै राम्रो प्रभाव पार्ने याक अट्याक माउन्टेन बाइक रेस निरन्तर सञ्चालन गर्नुपर्ने र त्यसका लागि आफूले सक्दो पहल गर्ने बताइन्।

माउन्टेन बाइक वर्ल्डवाइडका प्रमुखलाई प्रतियोगिता सञ्चालनबाट पछि नहट्न आग्रह गर्दै रानाले अब सरकारी तहबाटै खेल सञ्चालनका लागि पहल गर्ने बताइन्। समिति सभापतिहरू पन्थ र जोशीलगायतले खेल क्षेत्रको प्रवर्द्धन गर्न सबै लाग्नुपर्नेमा जोड दिएका थिए।

टोलीको तर्फबाट त्रिविका उपप्राध्यापक तथा साइकल अभियन्ता डा. तारालाल श्रेष्ठ, माउन्टेन बाइक वर्ल्डवाइडका प्रमुख फिल इभान्स र कोरिन इमान्सले नेपालमा याक अट्याक खेलका बारेमा जानकारी गराए। माउन्टेन बाइक रेसका अन्तर्राष्ट्रिय खेलाडी अजय क्षेत्रीले माउन्टेन बाइक रेस कसरी खेलिन्छ भन्नेबारे जानकारी गराएका थिए।

१७ वर्षदेखि नेपालमा याक अट्याक माउन्टेन बाइक रेस प्रतियोगिता गराइरहेका माउन्टेन बाइक वर्ल्डवाइडका प्रमुख फिल इभान्सले आफूले लामो समय आफ्नै लगानी तथा स्पोन्सर खोजेर प्रतियोगिता गरेको र अब उक्त खेललाई नेपाल सरकारले नै स्वामित्व लिएर निरन्तरता देओस् भन्ने चाहना राखेको बताए।

साइकल अभियन्ता एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारालाल श्रेष्ठले विश्वकै सबैभन्दा अग्लो अल्टिच्युड भएको माउन्टेन बाइक रेस प्रतियोगिता नेपालमै मात्र भएकाले विश्वकै ध्यान नेपालमा तानिएको बताए। अरू ठाउँमा केही घण्टाको प्रतियोगिता हुने गरेकोमा नेपालको अन्नपूर्ण क्षेत्रमा १० देखि १५ दिनसम्मको प्रतियोगिता हुने र विश्वकै सबैभन्दा धेरै अल्टिच्युड भएको हुँदा विशिष्ट रहेको उनको भनाइ थियो। प्रतियोगिताको नाम ‘याक अट्याक’ भएकाले विश्व समुदायलाई चासोको विषय भएको उनले सुनाए।

प्रतियोगितामार्फत नेपालले पर्यटन, खेलकुद र समग्र आर्थिक पक्षमा धेरै फाइदा लिने उनको भनाइ छ।