
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले महिलालाई प्रत्यक्षतर्फ ३३ प्रतिशत सिट दिनुपर्ने बताएकी छिन्।
बिहीबार रुडुक र अक्सफार्म नेपालको ‘नेपालको राजनीतिमा महिला नेतृत्वको अर्थपूर्ण सहभागिता’ विषयक कार्यशालामा बोल्दै सांसद राणाले महिलाबीच नै प्रतिस्पर्धा हुने गरी छुट्टै निर्वाचन क्षेत्र तोक्नुपर्ने माग गरिन्।
महिलाहरूमा एउटैले सधैँ अवसर पाउने र कसैले गर्छु भन्दा पनि टिकट नपाउने अवस्थाको समाधान के हो भन्ने बहस चलेको भन्दै राणाले महिला–महिला नै प्रतिस्पर्धी हुने व्यवस्था गर्नुपर्ने र यो सबै तहमा हुनुपर्नेमा जोड दिइन्।
‘हामी लडेर, भिडेर आउन चाहन्छौँ। हामी जनतासँग प्रत्यक्ष गएर भोटै लिएर आउन चाहन्छौँ। स्थानीय तहमा लिएर पनि आएका छन्। तर, त्यहाँ वडा महिला सदस्य र दलित सदस्यमा मात्र सीमित गरिएको छ। अनुभव भइसकेकाले माथिल्लो पदमा पनि टिकट पाउनुपर्छ,’ उनले भनिन्।
नेतृ राणाले महिलाको उपस्थिति बढाउन पार्टीमा पनि दबाब दिइरहेको र अन्य पार्टीमा पनि दबाब बढाउनुपर्ने बताइन्। ‘हरेक कमिटीमा सहमहामन्त्री मात्रै किन महिला? महामन्त्री र उपसभापति किन महिला भएन ? अरू पदमा पनि त महिला हुन सक्छ नि। अहिले विभागहरू बनिरहेका छन्, त्यसमा पनि ३३ प्रतिशत महिलाकै नेतृत्वमा हुनुपर्यो, उनले भनिन्, ‘खाली सदस्य मात्रै हुने, भोट मात्रै हाल्ने?’
समयको माग र समाजको परिवर्तनअनुसार अगाडि बढ्नुपर्ने भन्दै राणाले अब संविधान संशोधन गरेर हरेक तहमा ३३ प्रतिशत प्रत्यक्ष सिट महिलाका लागि सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
नेतृ राणाले विभिन्न अभियानका नाममा महिलाको बारेमा तल्लो स्तरमा बोल्नु दुःखद भन्दै त्यस्तो बोल्नेलाई जवाफ दिनुपर्ने स्पष्ट पारिन्।