नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत् उद्यमीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । बोर्डले आइपिओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरेपछि ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री कार्यालयदेखि अर्थ मन्त्रालयसम्मको ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।
धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि सकारात्मक कार्य भई धेरै कम्पनीहरूको धितोपत्र निष्कासन गरेकोमा त्यसको सराहना गरे पनि यतिवेला भने बोर्ड खुला बजार नीतिविपरीत जान लागेको इप्पानका महासचिव बलराम खतिवडाले बताए । कुनै कम्पनीबाट ऐन–नियमविपरीत कार्य भएको भए त्यस्ता कम्पनीलाई आवश्यक सुपरिवेक्षण तथा छानबिन गरी कारबाही गर्नुपर्नेमा समग्र ऊर्जा क्षेत्रलाई नै बदनाम गराउने प्रयास भएको भन्दै बोर्डको पछिल्लो गतिविधिप्रति ऊर्जा उद्यमीहरूले असन्तुष्टि जनाएका छन् ।
केही कम्पनीका संस्थापकहरूले धितोपत्र बिक्री गरेको भन्ने आधारमा सम्पूर्ण कम्पनीलाई धितोपत्र निष्कासन गर्न रोक्न नहुने र यसो गरेमा यो क्षेत्र नै धराशायी भई अर्थतन्त्रमा नकारात्मक असर पर्ने महासचिव खतिवडाको भनाइ छ । तर, बोर्डले भने पछिल्लो समयमा धमाधम प्रिमियम जोडेर साधारण सेयर निष्कासन गर्न अनुमति दिँदा त्यसको विरोध हुन थालेपछि हाल सबै प्रकारका सार्वजनिक निष्कासन रोकिएको हो ।
नेपाल धितोपत्र बोर्डबाट विगतमा सहज रूपमा धितोपत्र निष्कासनको अनुमति पाउन थालेसँगै हाइड्रोपावर कम्पनीहरूले पनि सहज ठान्दै धेरै कम्पनीहरू आइपिओ जारी गर्ने निवेदन दिन थालेका थिए । हाइड्रोपावर कम्पनीहरूले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको अवस्थामा यसको योगदानलाई कदर गरी आवश्यकताअनुसार धितोपत्र जारी गर्न दिनुपर्ने महासचिव खतिवडाको भनाइ छ ।