
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हजारौँ जनताको त्यागबाट प्राप्त व्यवस्था परिवर्तन नभई यसैभित्रबाट जनताको अवस्था सुधार गर्न लाग्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार नेपाली कांग्रेस अर्घाखाँचीको पहिले जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले भने, ‘अहिले नेताहरू पाल्न महँगो भयो भन्ने आवाज उठेका छन्। संघीय मन्त्रालय घटाऊँ, प्रदेश सरकार र स्थानीय सरकारलाई बलियो बनाऊँ।’
जनताको जीवनभरको कमाइ सहकारीले लुटेको भन्दै थापाले जनतालाई समस्या परेको वेला सरकारले अभिभावकको भूमिका निभाउनुपर्ने बताए। ‘जीवनभरको कमाइ सहकारीले लुटेको छ। लघुवित्तबाट जनता महँगो कर्जा लिन बाध्य छन्। बैंकको ऋण व्यवसायीले तिर्न नसक्ने अवस्थामा सरकारले अभिभाकको भूमिका निर्वाह गरी जनताको हरेक समस्याको समाधान गर्नुपर्दछ।’
महामन्त्री थापाले एकै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने अवस्था परिवर्तन गर्नुपर्नेमा जोड दिए। ‘देशको कार्यकारी नेतृत्व चार–पाँचजनाको पेरिफेरि घुम्ने हुँदा जनतामा निराशा छाएको छ। अब त्यसको अन्त्य गर्नुपर्दछ,’ उनले भने।
जिल्लामा कसले टिकट पाउँछ भन्ने विषय जिल्लाकै अधिकार हुनुपर्ने उल्लेख गर्दै थापाले आगामी निर्वाचनमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने प्रस्ट पारे।