१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सबै मुस्ताङवासीका लागि कोरला नाका खुला    

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५७:oo

मुस्ताङको सबै स्थानीय तहका बासिन्दाले कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत-जावत गर्न पाउने भएका छन्। यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो।

चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँचवटै स्थानीय तहका बासिन्दालाई आवत-जावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।

'कोरला नाकाको उद्घाटनपछि भएको बैठकमा हामी (नेपाल) पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरला नाकामा सिमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेका थियौँ,' उनले भने, 'चिनियाँ पक्षले हाम्रो प्रस्तावमा सहमति जनाएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका बासिन्दाहरूले पनि प्रस्थान अनुमतिपत्रको आधारमा कोरला नाकाबाट चीन आवत-जावत गर्न पाउने भएका छन्।'  

यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो। सहमतिपछि गृह मन्त्रालय र स्थानीय तहहरूसँग समन्वय गरेर थप पालिकावासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

कोरला नाकामा पहिलो चरणमा चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ–लिचीसम्म व्यापार, व्यवसायका लागि नियमित आवत-जावत थालेका छन्।

कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रूपमा बन्द भएको थियो। त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो। विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो।

विसं २०५८ सम्म रोकतोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो। कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङवासीलाई आवत-जावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए।

चीनको नेचुङ–लिची काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुबु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय, जनसुरक्षा ब्युरो, वाणिज्य ब्युरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरूको उपस्थितिमा सोमबार दिउँसोदेखि नाका खोलिएको हो।

सो अवसरमा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो।

दुवै सरकारका प्रतिनिधिहरूको उपस्थितिमा नाका खोलिएको हो। कोरला नाकाको ढोका खुला भएको पहिलो दिन चीनले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाहरूलाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो।  

लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोस्ट (बिओपी)को रोहबरमा यही कात्तिक २५ गते चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा पाँच प्रिफेब कन्टेनर जडान गरिएको छ। कोरला नाकाको चीनतर्फ स्थायी संरचना छ। नेपालमा थिएनन्।

चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुरोधमा चीनले ‘प्रिफेब कन्टेनर’ उपलब्ध गराएर जडान गरिएको हो। चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन्। चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरला नाका जाने पर्यटक प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन्।

नेचुङ सशस्त्र प्रहरी बलको (बिओपी)को भवन निर्माण भएको छ। जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ। चीनले नाकासम्म पक्की सडक र सुविधा सम्पन्न भवन बनाएको  छ।     

   
 
 

ad
ad