Skip This
अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव असफल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o६:५४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव असफल

८७ मताधिकारमध्ये ५२ भोट आफ्नो पक्षमा राख्न सफल भएपछि एन्फा अध्यक्ष नेम्वाङले पद रक्षा गरेका छन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:५४:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङविरूद्धको अविश्वासको प्रस्ताव असफल भएको छ । हेटौँडामा भएको विशेष साधारणसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षले नै भोटिङ बहिष्कार गरेपछि नेम्वाङविरुद्धको प्रस्ताव असफल भएको हो । एन्फाको विशेष साधारणसभामा नेम्वाङविरूद्धको अविश्वासको प्रस्तावमा मतदान भएको थियो । एन्फाका ८७ मताधिकार पाएकामध्ये ५३ मात्र भोट खसेको थियो । नेम्वाङले आफ्नो पक्षमा ५२ भोट प्राप्त गरे । 

एक भोट बदर भएको थियो । मताधिकार पाएका दुईतिहाइले मात्र अध्यक्षसहित अरू सदस्यलाई बर्खास्त गर्न सक्ने विधानमा उल्लेख छ । मतदानका क्रममा असन्तुष्ट ३४ सदस्य सहभागी भएनन् । मतदानअघि दुई पक्षबीच तनाव उत्पन्न भएको थियो । विशेष साधारणसभामा अध्यक्ष नेम्वाङले बोलेपछि एन्फाकै पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले बोल्न खोजेका थिए । तर, त्यसपछि होहल्ला भयो । विशेष साधारणसभाको उद्घाटन सत्र नभई मतदान सुरु भएको थियो । शेर्पा पक्षले आफूहरूलाई बोल्न नदिएको र विधान मिचेको आरोप लगाउँदै मतदान बहिष्कार गरेको थियो । 

३४ मताधिकार सदस्य साधारणसभाका लागि उपस्थित भए पनि भोटिङमा अनुपस्थित भएका थिए । आफूविरुद्धको अविश्वासको प्रस्ताव रक्षा गरेपछि नेम्वाङले सबै मिलेर फुटबल विकासमा लाग्नुपर्ने बताएका छन् । 

मिलेर फुटबल विकास गर्नुपर्ने
फुटबल इतिहासमा उनी पहिलो अध्यक्षका रूपमा अविश्वासको प्रस्ताव सामना गर्ने व्यक्ति बनेका छन् । ‘एक वर्षमै अविश्वासको प्रस्ताव सामना गरेँ, अब वैधानिक बाटो निस्किएको छ,’ उनले भने, ‘सबै मिलेर नेपाली फुटबलमा राम्रो गर्नुपर्छ ।’ उनले कहीँकतै नभएको अविश्वास प्रस्तावको सामना गर्नुपरेको भन्दै दुःखेसो पोखेका थिए ।

यसैगरी पूर्वअध्यक्ष शेर्पाले अविश्वासको प्रस्तावको मतदानअघि आफूहरूलाई बोल्न नदिएको आरोप लगाएका छन् । ‘अध्यक्षले प्रस्ताव राख्ने हामीलाई बोल्न दिनुभएन, दोस्रो नम्बरमा महासचिवको बर्खास्तीको प्रस्ताव हटाइयो, तेस्रो कुरा कार्यसमितिको बैठक हुँदा विधानको धारा २३ को ९ उल्लेख भएअनुसार जसउपर उजुरी परेको छ, कार्यसमितिको बैठकबाट हटेर वरिष्ठले कार्यसमितिको बैठक सञ्चालन गर्नुपर्नेमा त्यो पनि गर्न भएन,’ शेर्पाले भने ।

उनले विधि र विधानअनुसार चल्नका लागि जहिले पनि आवाज उठाउने काम गर्ने पनि बताएका छन । ‘हामीले पहिलेदेखि नै विशेष साधारणसभाको वैधानिकता नै छैन भनेका थियौँ, कार्यसमिति बैठक राख्नुभयो, एकजना सदस्य खोजेर ११ जना पुर्‍याएर साधारणसभा तोकियो, यस्तो निर्णय आपत्कालीन बैठकले होइन नर्मल कार्यसमिति बैठक बोलाउनुपर्ने हो,’ शेर्पाको भनाइ छ ।

गत २५ भदौमा एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धराशयी बनाउन उद्यत रहेको र उनीहरू पदमा रहे नेपाली फुटबलको भविष्यमा नै क्षति पुग्ने भन्दै बर्खास्त गर्न माग गर्दै पत्र दर्ता गरिएको थियो । एन्फा केन्द्रीय समितिले अध्यक्षको एजेन्डा मात्र साधारणसभामा लाने निर्णय गरेको थियो । अध्यक्ष र महासचिवमाथि १९ आरोपसमेत लगाइएको थियो ।