
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत जाजरकोट भूकम्पका घाइतेमध्ये तीनजनालाई काठमाडौं रेफर गरिएको छ।
घर भत्किँदा च्यापिएर ढाड तथा पेटमा चोट लागेका तीनजनाको मिर्गौलामा समस्या देखिएपछि काठमाडौं रेफर गरिएको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले जानकारी दिए।
डा. रिसालका अनुसार बनगाड कुपिन्डे गाउँपालिका– २ सल्यानका ३२ वर्षीय मोहन विष्ट, नलगाड नगरपालिका– २ जाजरकोटकी १६ वर्षीया जुना विष्ट र सानीभेरी नगरपालिका– १ रुकुम पश्चिमका २६ वर्षीय धनसिंह रावललाई बिहीबार काठमाडौं रेफर गरिएको छ। यी सबैको मिर्गौलामा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको उनले बताए।
जाजरकोट भूकम्पमा परी घाइते भएका २७ महिला र २६ पुरुष गरी ५३ जनालाई भेरी अस्पतालमा ल्याइएकोमा दुईजना डिस्चार्ज भएका छन्। एकजनाको मृत्यु भएको छ।
उता, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एकजना पनि डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए। ‘उपचाररत ४५ जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। उहाँहरूमा खासै समस्या छैन। तीनजना सिकिस्त छन्। सिकिस्त बिरामीलाई काठमाडौं रेफर गरिएको छ,’ उनले भने।
जाजरकोटका थप तीनजना घाइतेलाई उपचारका लागि आज बिहीबार भेरी अस्पताल ल्याइएको उनले बताए। उनका अनुसार बाँकेका दुई, जाजरकोटका ३४ र रुकुम पश्चिमका १३ गरी ४९ जनाको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ।
भेरी अस्पतालमा ल्याइएका ५३ मध्ये पाँच वर्षमुनिका सात, ५–१५ वर्षका पाँच, १५–१८ वर्षका पाँच, १८–६० वर्षका ३० र ६० वर्षमाथिका ६ जना रहेका छन्।