
दसैँलाई बिदा गरेसँगै नेपाली समाज दीपावलीको पर्खाइमा छ। खुला मौसम र रमणीय वातावरणमा शनिबार बागलुङको आकाशमा दर्जनौँ चंगा उडिरहेका थिए।
स्कुले केटाकेटीदेखि युवा र पाका पुस्ता पनि बागलुङको धौलागिरि बहुमुखी क्याम्पसकाे प्रांगणमा चंगा उडाइरहेका थिए ।
सामाजिक कार्यसँगै युवाहरूको क्षमता अभिवृद्धिमा काम गर्दै आएको रोट्र्याक्ट क्लब अफ बागलुङले दीपावलीको अवसरमा आयोजना गरेको चंगाचेट प्रतियोगिता कार्यक्रममा चंगाचेट पार्ने होडबाजी चलेको थियो।
बिस्तारै हराउँदै गएको संस्कृति संरक्षणका निम्ति क्लबले प्रतियोगिताको आयोजना गरेको क्लबकी अध्यक्ष सुस्मिता केसीले जानकारी दिइन्। पर्यटकीय स्थलको प्रचारप्रसार हुने र पुरानो संस्कृतिको जगेर्नामा मद्दत पुग्ने हुँदा प्रतियोगिता सञ्चालन गरिएको केसीको भनाइ छ।
कार्यक्रमको सुरुवात गर्दै गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटन प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। उनले यस्ता परम्परागत संस्कृति झल्कने कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे थाहा हुने बताए। उनले पछिल्लो समय पर्यटन प्रवर्द्धनका कामहरू बिस्तारै बढ्न थालेको बताए।
प्रतियोगितामा १७ जनाको सहभागिता रहेको थियो । जसमा सातवटा चंगा चेट गर्दै बबिन शाक्य उत्कृष्ट भए। शाक्यलाई नगद पाँच हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो।