१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विभागीय प्रमुखहरूमाथि महानगरको कडाइ, सबैको कार्यकक्षमा सिसिटिभी जडान

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:o२:oo

निरन्तर निगरानीले गोप्यता भंग हुने भन्दै केही विभागीय प्रमुख रुष्ट

कमलादीस्थित काठमाडौं प्लाजामा कार्यालय सरेको काठमाडौं महानगरपालिकाले पारदर्शी र चुस्त सेवा प्रवाहका लागि सबै कर्मचारी र विभागीय प्रमुखको कार्यकक्षमा सिसिटिभी जडान गरेको छ । एउटै भवनमा अटाएको महानगरका सबै विभाग, शाखा, महाशाखाका सेवा सिसिटिभी जडानसँगै सेवा चुस्त देखिन थालेको छ । 

महानगरले नेपाल ट्रस्टको भवन १० वर्षका लागि भाडामा लिएर कार्यालय सारेको हो । नयाँ कार्यालय स्थापनासँगै मेयर बालेन्द्र साहले प्रत्यक्ष निगरानी गर्न सक्ने गरी सिसिटिभी जडान गरिएको हो । कार्यालयका १४ वटै विभागीय प्रमुख र सबैजसो कर्मचारीको कार्यकक्षमा सिसिटिभी जडान गरिएको छ । यसअघि सुन्धाराको बागदरबार र जेडी कम्प्लेकसलगायत ११ ठाउँमा महानगरका विभाग छरिएका थिए । कार्यालय छरिँदा निगरानी र कार्यसम्पादनमा एकरुपता थिएन । महानगरको कार्यालय तीन महिनाअघि (साउन) मा काठमाडौं प्लाजामा सरेको थियो । 

नवीन मानन्धर, प्रवक्ता, काठमाडौं महानगर
सिसिटिभी जडानपछि विभागीय प्रमुखहरू समयमै कार्यालय पुग्न थालेका छन् भने कार्यालय समय अवधिभर कार्यकक्षमै हुने गरेका छन् । सिसिटिभी जडानपछि कार्यसम्पादन र निगरानीमा सहज भएको छ, कहीँ जानुपरे विभागीय प्रमुख नियमअनुसार जानुहुन्छ । यसअघि धेरै ठाउँमा कार्यालय छरिएकाले मनिटरिङ गर्न सम्भव थिएन ।

सिसिटिभी जडानपछि विभागीय प्रमुख समयमै कार्यालय पुग्न थालेका छन् भने कार्यालय समय अवधिभर कार्यकक्षमै हुने गरेका छन् । ‘सिसिटिभी जडानपछि कार्यसम्पादन र निगरानीमा सहजता भएको छ, कहीँ जानुपरे विभागीय प्रमुख नियमअनुसार जानुहुन्छ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘यसअघि धेरै ठाउँमा कार्यालय छरिएकाले मनिटरिङ गर्न सम्भव थिएन ।’ महानगरका सबै विभागमा एक महिनाअघि सिसिटिभी जडान गरेको हो । यसपछि सेवा प्रवाह छिटो र छरितो भएको प्रवक्ता मानन्धरको दाबी छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भने सिसिटिभी जडान गरिएको छैन । साथै, मिटिङ तथा बैठक हलहरूमा पनि सिसिटिभी छैन । 

मेयर र उपमेयर पनि काठमाडौं प्लाजामा 
यसअघि सुन्धारास्थित कार्यालय छाडेपछि राष्ट्रिय सभागृहमा बस्दै आएका मेयर साह र उपमेयर सुनिता डंगोल काठमाडौं प्लाजामा सरेका छन् । कार्यकक्ष तयार भएपछि दुई साताअघि मेयर र उपमेयर काठमाडौं प्लाजामा सरेका हुन् । यस्तै, प्रमुख प्रशासकीय अधिकृत पनि प्लाजामा सरिसकेका छन् । हाल टेकु र सुन्धारास्थित बागदरबारमा नगर प्रहरी बस्दै आइरहेका छन् भने काठमाडौं प्लाजाभित्र नगर प्रहरीको विभाग पनि राखिएको छ । काठमाडौं प्लाजासँग महानगरले मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी १० वर्षको सम्झौता गरेको थियो । ०७२ सालको भूकम्पपछि महानगरको प्रशासनिक सेवा सुन्धारास्थित जेडिए कम्प्लेक्सबाट सञ्चालन भइरहेको थियो । कम्प्लेक्सलाई महानगरले मासिक १८ लाख रुपैयाँ भाडा तिर्दै आएको थियो । तर, गत असारदेखि सम्झौता म्याद सकिएपछि महानगरले उक्त ठाउँ छाडेको हो ।

केही विभागीय प्रमुखद्वारा विरोध 
कार्यकक्षमा सिसिटिभी जडान भएपछि कतिपय विभागीय प्रमुख सचेत एवं त्रसित बनेको एक कर्मचारीले बताए । समयमै कार्यालय पुग्नुपर्ने, कार्यकक्षमा फाल्तु बस्न नपाइने, कार्यालयसँग सम्बन्धितभन्दा अन्य कार्य गर्न नपाइने, कार्यकक्षका हरेक कुरा सिसिटिभीमा रेकर्ड हुने हुन उनीहरू त्रसित बनेका उनको भनाइ छ । कार्यकक्षमा कतिपय अवस्थामा व्यक्तिगत कुराकानी पनि हुने भएकाले सिसिटिभी राख्नु उचित नहुने भन्दै उनीहरूले विरोध गरेका छन् । यद्यपि, उनीहरूले यो विषय औपचारिक रूपमा व्यक्त भने गर्न सकेका छैनन् । ‘कार्यसम्पादनमा समस्या भए निर्देशन र कारबाहीको अधिकार छँदैछ, तर सिसिटिभी जडान गर्दा अप्ठ्यारो लागेको छ । यतिका वर्ष काम गर्दा हामीले सिसिटिभी नभए पनि राम्रै गरेको हो,’ एक विभागीय प्रमुखले भने, ‘कहिलेकाहीँ कार्यालयको कामले गर्दा खाना पनि कार्यकक्षमै बसेर खाइन्छ, अब खाना खाएको रेकर्ड पनि सिसिटिभीमा रहने भयो, कहिलेकाहीँ आफन्त वा साथीभाइ कार्यकक्षमा आउलान् कुराकानी गर्नुपर्ला, सबै कुरा सिसिक्यामेरामा रेकर्ड हुन आवश्यक हुन्न ।’ विभागीय प्रमुखहरूले खाजा खान वा आराम गर्न छुट्टै कोठाको माग गरेका छन् । सबै काम सिसिटिभीमै रेकर्ड हुने भएकाले विभागीय प्रमुखहरू मेयर साहको यो कमदप्रति रुष्ट बनेका हुन् । 

तर, कार्यसम्पादन र मनिटरिङको हिसाबले भने यो काम प्रभावकारी हुने एक विभागीय प्रमुखको भनाइ छ । ‘मेयरसापले हामीलाई नराम्रो व्यवहार त गर्नुभएको छैन, हरेक काममा सकारात्मक सहयोग गर्नुभएको छ,’ ती विभागीय प्रमुखले भने, ‘सबै विभागीय प्रमुख काममा जिम्मेवारी नहुन सक्छन् त्यसैले पनि सिसिटिभी जडान गरिएको हुन सक्छ ।’ नयाँ भवनमा कार्यालय सरेपछि मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, विभागीय प्रमुखलगायत सबै एकै स्थानमा भेटिने भएकाले सेवा सहज भएको छ । ‘यसअघि एउटा विभाग एकातिर अर्को विभाग अर्कातिर थियो, तोक लगाउन महिनादिनसम्म पनि लाग्ने गर्थ्यो, तर अहिले निकै सहज भएको छ,’ महानगरका प्रवक्ता मानन्धरले भने, ‘कुनै पनि फाइल कतै अड्किएको छैन, नत कुनै राजनीतिक दबाब नै आएको छ ।’ 

ad
ad