मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १४ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १४ मंगलबार o९:१७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सशस्त्र प्रहरीले आजदेखि सीमास्तम्भ मर्मत थाल्ने : करिब तीन हजार सीमास्तम्भ मर्मत तथा रङरोगन गरिने 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १४ मंगलबार o९:१७:oo

नेपाल–भारतबीचका सीमास्तम्भको सशस्त्र प्रहरी बल नेपालले मंगलबारदेखि पुनर्स्थापन तथा मर्मत थाल्ने भएको छ । विगतमा नापी विभागमार्फत मर्मत हुँदै आएकामा सरकारले सशस्त्र प्रहरीलाई जिम्मेवारी दिएको हो । 

बिजोर नम्बरका सीमास्तम्भ नेपाल र जोर नम्बरका सीमास्तम्भ भारतले मर्मत गर्ने समझदारी छ । भारतले आफ्नो भागमा परेका सीमास्तम्भ नियमित मर्मत गर्दै आए पनि नेपालले गर्नुपर्ने काम चार वर्षदेखि हुन सकेको छैन । सशस्त्र प्रहरीले करिब तीन हजार सीमास्तम्भ मर्मत तथा रङरोगन गर्नेछ । 

मंगलबार मधेश प्रदेशका आठै जिल्लाबाट मर्मत सुरु हुने सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए । ‘मंगलबारदेखि मधेश प्रदेशका जिल्लाबाट सीमास्तम्भको मर्मत सुरु हुन्छ,’ उनले भने, ‘तिहारपछि अन्य जिल्लामा पनि मर्मत तथा पुनर्स्थापनाको काम गर्छाैँ ।’ सीमास्तम्भको मर्मतसम्भार तथा पुनर्स्थापनासम्बन्धी कार्यविधि नै बनाएर सरकारले सशस्त्र प्रहरीलाई यो जिम्मेवारी दिएको हो । सीमा सुरक्षाको डेडिकेटेड फोर्स रहेको सशस्त्र प्रहरीलाई ०७७ साउनमा सरकारले सीमास्तम्भको मर्मतसम्भार तथा पुनर्स्थापनाको जिम्मेवारी दिएको थियो । तर, यससम्बन्धी कार्यविधि नहुँदा काम सुरु हुन सकेको थिएन । 

एसएसपी राजेन्द्र खड्का प्रवक्ता, सशस्त्र प्रहरी बल
मंगलबारदेखि मधेश प्रदेशका जिल्लाबाट सीमास्तम्भको मर्मत सुरु हुन्छ । तिहारपछि अन्य जिल्लामा पनि मर्मत तथा पुनर्स्थापनाको काम गर्छाैँ ।

सन् २०१४ मा दुई देशबीच २०२२ सम्म सुस्ता र कालापानीबाहेक क्षेत्रको सीमा समस्या समाधानको काम सकिने समझदारी भएको थियो । तर, कोरानालगायत कारणले लक्ष्यअनुसार काम हुन सकेको छैन । साथै, सीमाका समस्या समाधानका लागि दुई देशबीच नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको सीमा कार्य समूहको बैठक पनि पाँच वर्षदेखि बस्न नसक्दा खोलाले बगाएका सीम स्तम्भ तथा विवादित ठाउँमा समस्या कायमै छन् । सीमा विवाद टुंग्याएर नक्सांकन गर्ने जिम्मेवारी सो संयन्त्रलाई दिइएको थियो । भारतकै अनिच्छाका कारण कार्य समूहको बैठक बस्न नसकेको गृह मन्त्रालयका अधिकारी बताउँछन् ।

नापी विभागको तथ्यांकअनुसार नेपाल–भारत खुला सीमामा आठ हजार आठ सय ५३ सीमास्तम्भ छन् । त्यसमध्ये केही हराएका छन् त कतिपय भत्किएका छन् । भत्किएका तथा हराएकामध्ये आधा भारतले तथा आधा नेपालले मर्मत गर्ने समझदारी छ । सशस्त्र प्रहरीले नेपालसँगको सीमा सुरक्षामा खटिएको भारतको एसएसबीसँग सहकार्य गरी मर्मत तथा पुनर्स्थापना गर्न लागेको हो । 

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन
सीमा सुरक्षामा स्थानीयको अपनत्व बढाउन सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यालयको सुरुवात गरेको छ । दसैँका अवसरमा सबै बाहिनीले सीमा क्षेत्रका वडाध्यक्षसँग अन्तरक्रिया कार्यक्रम गरेका छन् । 

सीमा सुरक्षा सहजीकरण कार्यविधि, २०७९ अनुसार यस्तो कार्यक्रम गरिएको सशस्त्र प्रहरी प्रवक्ता खड्काले बताए । अन्तरक्रियामा वडाध्यक्षहरूले आ–आफ्नो क्षेत्रका समस्या बताएका थिए । सीमा क्षेत्रमा जनप्रतिनिधिको अध्यक्षतामा सीमा सुरक्षा सहजीकरण समितिसमेत बनाउन थालिएको छ । यसमा सीमावासी र सशस्त्र प्रहरीबीच सम्बन्ध सुमधुर हुनका साथै सीमा अपराध नियन्त्रण र सीमा सुरक्षा पनि बलियो हुने सशस्त्र प्रहरी अधिकारी बताउँछन् । 

सशस्त्र प्रहरीले सो कार्यविधिअनुसार सीमा क्षेत्रमा विकासका काम लैजाने तयारी पनि गरेको छ । साथै, सीमा क्षेत्रका बासिन्दालाई शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कल्याणकारी कार्यक्रम विस्तारको योजना बनाएको छ । भारतको एसएसबीले पनि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

सशस्त्र–एसएसबी नेतृत्व बैठक हुँदै 
सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलबीचको नियमित वार्षिक समन्वय बैठक कात्तिक २०–२२ मा नयाँदिल्लीमा हुने भएको छ । बैठकमा भाग लिन सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल नेतृत्वको टोली भारत जाँदै छ । भारतमा एसएसबी महानिर्देशक रश्मि शुक्लाले बैठकको नेतृत्व गर्नेछिन् । गत वर्ष यस्तो बैठक नेपालमा भएको थियो । सीमापार अपराध नियन्त्रण बैठकको मुख्य एजेन्डा हुने गरेको छ । बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।