विगतको प्रवृत्ति र लाभांशको माहोलले आशा जगाएको छ : लगानीकर्ता
दसैँको नौ दिन बिदापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार खुल्दै छ । दसैँअघि निरन्तर घटिरहेको अवस्थामा रहेको सेयर कारोबारले दसैँपछि कस्तो दिशा समात्ला भन्ने आमलगानीकर्तालाई चासो बढेको छ ।
सेयर कारोबार बन्द हुनुअघि २ कात्तिकमा नेप्से परिसूचक चार दशमलव शून्य पाँच अंकले घटेर एक हजार नौ सय ३ दशमलव ८४ विन्दुमा आइपुगेको थियो । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ८४ कम्पनीको ३७ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ९७ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, कारोबारमा १३ वटा सूचकमध्ये लगानीगत समूह, बैंकिङ समूह, सामूहिक लगानी र अन्य समूहको सूचक सामान्य बढेको थियो ।
दसैँपछि मिश्रित कारोबार
दसैँपछिको सेयर कारोबार कस्तो रहला भन्ने आमचासो रहेको छ । तर, विगतको दसैँपछिको कारोबारलाई नियाल्दा मिश्रित देखिएको छ । गत वर्ष दसैँपछि कारोबार खुलेको दिन नेप्से सूचक ४४ दशमदलव ६२ अंकले बढेको थियो । सो समयमा नेप्से सूचक एक हजार आठ सय ९८ दशमलव ३८ विन्दुमा रहेको थियो ।
त्यसपछि बजार लगातार दुई दिन घटेको रेकर्ड गत वर्षको दसैँपछिको कारोबारमा देखिन्छ । लगानीकर्ता ताराप्रसाद फुल्लेले दसैँपछि बजार सकारात्मक बन्न सक्ने आधारहरू तय भएको बताए । उनले भने, ‘लाभांशको समय पनि चलेको छ, ब्रोकर कमिसनले पनि पूर्णता पाउनेछ ।’ कात्तिकमा बैंकको ब्याजदर घट्ने हल्लाले पनि लगानीकर्ता थप उत्साहित बनेको उनको भनाइ छ ।
नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले पनि आगामी बजारमा केही सुधार आउन सक्ने बताइन् । उनले भनिन्, ‘१८ सयको बजारबाट एक तह उक्लिएको छ, पुँजी बजारको क्षेत्रमा केही नीतिगत सुधार पनि भएको हुँदा बजार सकारात्मक हुने आधार छन् ।’