१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० कार्तिक ४ शनिबार ०६:५५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दसैँमा उपचार सेवा : डायलाइसिस, आइसियू, इमर्जेन्सी र गम्भीर रोगका बिरामीले सहजै सेवा पाउने 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० कार्तिक ४ शनिबार ०६:५५:००

४ कात्तिकदेखि टीकाको भोलिपल्ट ८ कात्तिकसम्म (पाँच दिन) सबै सरकारी अस्पतालले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने

दसैँको बिदामा ठूला सरकारी अस्पतालले अत्यावश्यकबाहेकका उपचार सेवा ठप्प पार्ने भएका छन् । ४ कात्तिकदेखि टीकाको भोलिपल्ट ८ कात्तिकसम्म (पाँच दिन) सबै सरकारी अस्पतालले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएका हुन् । 

दसैँका वेला बिरामीको चाप कम हुने र स्वास्थ्यकर्मी पनि बिदामा बस्ने भएकाले उपचार सेवा खुम्च्याइएको हो । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले शुक्रबारदेखि दसैँ बिदा हुने भएकाले अत्यावश्यकबाहेकका उपचार सेवा पनि बन्द गरिने जानकारी दिए । ‘ओपिडी र नियमित सेवा टीकाको भोलिपल्टसम्म बन्द हुन्छन्, तर अत्यावश्यक उपचार सेवा बन्द गर्दैनौँ,’ उनले भने, ‘त्यसका लागि केही स्वास्थ्यकर्मी अस्पतालमा खट्नुहुन्छ ।’ उनले डायलाइसिस, आइसियू, इमर्जेन्सी र गम्भीर रोगका बिरामीले दसैँका वेलामा अन्य समयमा भन्दा प्रभावकारी सेवा पाउने बताए । दसैँका वेला बिरामीको चाप र भिड कम हुने भएकाले पनि दिइएका अत्यावश्यक सेवा प्रभावकारी हुने उनको भनाइ छ ।

दसैँका वेला अस्पतालमा बिरामीको चाप कम हुन्छ । अधिकांश स्वास्थ्यकर्मी दसैँ मनाउन बिदा बस्छन् । चाडबाडका वेला बिरामीको संख्या कम हुने कारण देखाउँदै अस्पतालहरूले हरेक वर्ष नियमित र ओपिडी सेवा बन्द गर्दै आइरहेका छन् । 

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, निजामती अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, केएमसी अस्पताल, गंगालाल अस्पताललगायतमा पनि दसैँका वेला ओपिडी सेवा ठप्प हुनेछन् । भर्ना भइसकेका र इमर्जेन्सीमा आउने बिरामीलाई भने यी अस्पतालले आकस्मिक उपचार सेवा प्रवाह गर्नेछन् । यसबाहेक अप्रेसन गर्नुपर्ने र तत्काल उपचार गर्नुपर्ने बिरामीले भने निरन्तर उपचार सेवा पाइरहनेछ । 

वीर अस्पतालमा अन्य समयमा दैनिक एक हजार पाँच बिरामी ओपिडी कक्षका उपचारका लागि आउँछन् । त्रिवि शिक्षण अस्पतालमा दैनिक एक हजार एक सय हाराहारी बिरामी आउँछन् । तर, यो संख्या घटस्थापनाको दिनदेखि कम हुँदै गइरहेको छ । अस्पतालहरूले दसैँका वेला बिरामीको संख्या पनि कम हुने भएकाले स्वास्थ्यकर्मीलाई पनि बिदा दिने गरेका छन् । तर, तत्काल अप्रेसन गर्नुपर्ने र दसैँअघि नै भर्ना भइसकेका अप्रेसन गर्नुपर्ने बिरामीको उपचार सेवा भने रोकिनेछैन । 

आकस्मिक सेवा र एम्बुलेन्स सेवा २४सै घन्टा उपलब्ध
दसैँका वेला सरकारी अस्पतालले ओपिडी सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सञ्चालन नै गर्दै आएका छन् । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई परिपत्र गरिसकेको छ । परिपत्रमा गम्भीर प्रकारका उपचार सेवा प्रभावित नपार्न पनि निर्देशन दिएको छ । मन्त्रालयले पालो मिलाएर अस्पतालका कर्मचारीलाई बिदा बस्न आग्रह गरेको छ । पालो मिलाउँदा दसैैँका वेला बिदा बसेकाहरू तिहारका वेला खट्ने गर्छन् । 

घटस्थापनयता उपत्यकाका सरकारी अस्पतालमा बिरामीको संख्या घट्न थालेको छ । यो संख्या फूलपातीसम्म क्रमशः घट्दै जानेछ । आकस्मिक सेवाबाहेकका बिरामीको संख्या कम हुँदैै गएको अस्पतालले जनाएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा सात सय ५०, वीर अस्पतालमा एक हजार दुई सय, निजामती अस्पतालमा पाँच सय, पाटन अस्पतालमा ८ सय, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन सय हाराहारीले ओपिडी सेवा लिएका थिए । ओपिडीमा आउने बिरामीको संख्या घटस्थापनादेखि कम हुँदै आइरहेको छ ।

डायलाइसिस र अन्य गम्भीर रोगका बिरामीले दसैँका वेला उपचार सेवा सहजै पाउने भएका छन् । उनीहरूको तालिकाअनुसार नै डायलाइसिस सेवा प्रदान गरिनेछ भने अन्य गम्भीर र इमर्जेन्सीमा आउने बिरामीको उपचारको समस्या नहुने अस्पतालहरूले जनाएका छन् । निजामती अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले दसैँका वेला अत्यावश्यक उपचार सेवा सहजै पाइने बताए । ‘गम्भीर र इमर्जेन्सीमा आउने बिरामीले सहजै उपचार सेवा पाउनुहुन्छ,’ उनले भने, ‘तर, नियमित र ओपिडी सेवा चार दिन बन्द हुन्छ ।’ 

दसैँतिहारका वेला अस्पतालहरूले एम्बुलेन्स सेवा पनि सहजै प्रदान गर्नेछन् । यसबाहेक केही सेवाप्रदायक संस्थाहरूले पनि एम्बुलेन्स सेवा दिँदै आइरहेका छन् । एम्बुलेन्स सेवा र अत्यावश्यक उपचारमा दसैँका वेला कुनै पनि अवरोध नहुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार ओपिडी सेवा भने अस्पतालहरूले बन्द गर्ने बताए । तर, उपचार नगरी नहुने र गम्भीर रोगका बिरामीको उपचार सहज गराउने व्यवस्था मन्त्रालयले मिलाएको छ । ‘दसैँका वेला अस्पतालले इमर्जेन्सी सेवा रोक्न पाउनेछैनन्,’ उनले भने, ‘अत्यावश्यक र उपचार नगरी नहुने बिरामी संख्याअनुसार स्वास्थ्यकर्मी अस्पतालमै हुनुपर्छ ।’

वीरले दसैँलगत्तै ‘होलबडी’ चेकचाँज सेवा सञ्चालन गर्ने
वीर अस्पतालले अतिरिक्त उपचार सेवा थप गर्ने भएको छ । दसैँलगत्तै होलबडी चेकजाँचको उपचार सेवा प्रदान गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक पौडेलको भनाइ छ । उनका अनुसार अस्पतालले प्रदान गर्ने होलबडी चेकअपको प्याकेज तयार भइसकेको छ । बिरामी वा कुनै रोगको शंका लाग्नेले निश्चित शुल्क तिरेर यो सेवा लिन पाउनेछन् । बिहान ८ देखि १२ सम्म सेवा यो सेवा उपलब्ध हुनेछ भने अन्य अस्पतालमा भन्दा सस्तो शुल्क लिइनेछ । दसैँपछि पुरानै भवनबाट सुरु हुने यो सेवाअन्तर्गत बिरामी वा रोगको लक्षण नदेखिएका व्यक्तिले पनि स्वास्थ्य परीक्षण गराउन सक्नेछन् ।