१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३० मंगलबार
  • Saturday, 10 May, 2025
२o८o असोज ३० मंगलबार १५:३८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नाका नखुल्दा एउटै भेडा–च्यांग्राको १५ हजारसम्म मूल्य वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ३० मंगलबार १५:३८:oo

मुस्ताङस्थित चिनियाँ नाका बन्द हुँदा यस वर्ष पोखरा र आसपासका क्षेत्रमा एउटै भेडा-च्यांग्राको मूल्य १५ हजार रुपैयाँसम्म वृद्धि भएको छ। कोरोनाका कारण नाका बन्द भएपछि मुस्ताङका भेडा–च्यांग्रापालक कृषकले मूल्य बढाएकाले १५ हजारसम्म मूल्य बढाउनुपरेको व्यापारीहरूको भनाइ छ।

विगत ८–१० वर्षदेखि मुस्ताङबाट भेडा–च्यांग्रा ल्याएर पोखरामा बिक्री गर्दै आएका रामु थापा क्षेत्रीले गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा खरिदमा १५ हजारसम्म बढी तिर्नुपरेको बताए। विगत चार वर्षदेखि चिनियाँ नाका नखुलेकाले बाहिरबाट भेडा–च्यांग्रा ल्याउन नपाएको र मुस्ताङका कृषक र व्यापारीले भाउ बढाएपछि आफूहरूको खरिदमूल्य नै धेरै परेको उनको भनाइ छ।

गत वर्ष मुस्ताङमा ३८ हजारको हाराहारीमा खरिद गरेको जत्राे च्यांग्रालाई यसपटक १० देखि १५ हजारसम्म बढी तिर्नुपरेको उनले बताए। खरिदमूल्यसँगै पोखरासम्म ल्याउन प्रतिगोटाको ढुवानी खर्च करिब दुई हजार पाँच सय रुपैयाँ लाग्ने उनले बताए। उनका अनुसार एउटैको खरिद मूल्य ५२ हजार रुपैयाँसम्म परेको छ। चाडपर्वलाई लक्षित गर्दै प्रत्येक वर्ष मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, बझाङलगायतका जिल्लासँगै तिब्बतबाट व्यापारीहरूले पोखरा भेडा–च्यांग्रा ल्याउने गरेका छन्। तर, नाका बन्द रहेकाले यस वर्ष चीनबाट ल्याइएको छैन।

हाल पोखरामा १५ हुल गरी करिब सात हजारको हाराहारीमा भेडा–च्यांग्रा आइसकेका छन् । अन्य हुल आउने क्रममा रहेका छन्। व्यापारीहरूले पोखरा महानगरपालिका– १ र २५ मा पर्ने पोखरा–बाग्लुङ राजमार्गको सडक किनारमा राखी बिक्री–वितरण गरिरहेका छन्। यस वर्ष सबैतिरबाट गरी पोखरामा करिब १५ हजार भेडा–च्यांग्रा आउने अनुमान गरिएको छ।

ठूला च्यांग्रा हाल ६०–६५ हजार रुपैयाँसम्म र भेडा ४० हजार रुपैयाँसम्ममा बिक्री भइरहेका छन्। काेरोनाअघि पोखरामा करिब ४० हजारको हाराहारीमा भेडा–च्यांग्रा आउने गरे पनि त्यसयता मुस्किलले १७ हजारजति आउने गरेका अर्का व्यापारी रमेश श्रेष्ठ बताउँछन् । ‘यस वर्ष मुस्ताङमै भाउ छोइनसक्नु छ। के गर्ने ल्याउनैपर्‍याे,’ उनले भने। अघिल्लो वर्षको तुलनामा १५ हजारसम्म मूल्य बढी पर्न गएको उनको भनाइ छ। उनका अनुसार पोखरासँगै छिमेकी जिल्लाहरूमा मागसमेत बढेको छ। खरिदमूल्य नै बढी परेकाले आफूहरूको नाफासमेत घटेको उनले बताए।

मूल्य बढेसँगै त्यसको प्रत्यक्ष मार भने उपभोक्ताहरूलाई परेको छ। पोखराका फ्रेस हाउसहरूले प्रतिकिलो तीन हजार रुपैयाँसम्ममा मासु बिक्री गरिरहेका छन्। पोखरामा खसी–बोकाको मासुको मूल्य भने प्रतिकिलो १३ सय रुपैयाँ छ।