
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केसीले एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिँदै सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता जनाए।
‘विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरूलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरूको लागि उचित व्यवस्था गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छु,’ उनले भने, ‘रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरूलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दै आएको छु।’ केसीले विदेशमा बेपत्ता भएका नेपालीहरूको खोजी गरेर उनीहरूको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने बताए।
उनले अगाडि भने, ‘नेपालको पर्यटन प्रवर्द्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउनेलगायतका धेरै कार्य योजनाहरू मेरो छ।’