
चार दिन लगातार घटेपछि सेयर बजार झिनो अंकले बढेको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक पाँच दशमलव १६ अंक बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा पुगेको छ । विशेषगरी, राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएपछि बजार निरन्तर ओरालो लागेको थियो । लगानीकर्ता छोटेलाल रौनियारले बुधबार सामान्य अंकले बढ्नु स्वाभाविक भएको बताए । उनले भने, ‘लगानीकर्ता निकै कमजोर बनेका छन्, बजार निरन्तर घटेर सामान्य बढेको मात्र हो, बलियो पक्ष छैन ।’
बुधबार सिटी होटेल, मान्डु हाइड्रो पावर, हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्यमा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रो पावर मंगलबार नेप्सेमा सूचीकृत भई बुधबार पहिलो कारोबार गरेका हुन् । हाथवे इन्भेष्टमेन्टले पहिलो कारोबार दुई सय ८५ रुपैयाँ २० पैसा पाएको थियो भने मान्डु हाइड्रो पावर कम्पनीले तीन सय ७३ रुपैयाँ २० पैसाबाट कारोबार भएको थियो । त्यस्तै, समता घरेलु लघुवित्त र सयपत्री हाइड्रो पावरको सेयर मूल्य ९ दशमलव ९२ प्रतिशतदेखि ९ दशमलव ८५ प्रतिशतले बढेको छ ।
नेप्सेलाई पुनर्संरचना गर्न नेप्से कर्मचारीको माग
नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई पुनर्संरचना गर्न नेप्से कर्मचारी संघले माग गरेको छ । बुधबार नेप्सेको भवनअघि नेप्सेलाई पुनर्संरचना गर्ने माग गर्दै उनीहरूले एक घन्टा धर्ना दिएका हुन् । नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले पुनर्संरचनाको विषयमा अर्थ मन्त्रालयमा प्रस्ताव गरेको भए पनि हालसम्म पनि कुनै सुनवाइ नभएकाले बाध्य भएर पुनः आन्दोलन गर्नुपरेको बताए ।