१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० असोज २३ मंगलबार ०६:३०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्लास्ट रोगले ८० हेक्टर मार्सी धानबाली नष्ट

Read Time : > 1 मिनेट
२०८० असोज २३ मंगलबार ०६:३०:००

जुम्लाको तातोपानी गाउँपालिका ४ र ५ वडाको मार्सी धानबाली मरुवा (नेक बलास्ट) रोगले नष्ट भएको छ । करिब ८० हेक्टर क्षेत्रफलमा उत्पादन भएको धानबाली भित्र्याउने समयमा मरुवा रोगले नष्ट हुँदा किसानहरू मर्कामा परेका छन् । कृषि क्यालेन्डरअनुसार धानबाली असोज–कात्तिक महिनामा भित्र्याउने गरिन्छ । स्थानीय कृषक धनप्रसाद चौलागाईंले हरेक वर्ष २२ रोपनी खेतबाट २२ क्विन्टल मार्सी धान उत्पादन गर्थे । तर, यो वर्ष २२ रोपनी खेतकै धानबाली नष्ट भएको दुःखेसो गरे । ‘यहाँको धानबाली मुख्य खेती हो, यही उत्पादनले वर्षभरि पुग्थ्यो,’ उनले भने, ‘ब्लास्ट रोगको प्रकोपले धानबाली नष्ट भयो । भित्र्याउन लागेको धानमा आगो लगाउनुपर्ने अवस्था आएको छ ।

भकारी मात्र होइन, सयाैँ किसानका पेट रित्तिएका छन् । अब भोकमरी र खाद्य संकट झेल्नुको अवस्था आएको छ ।’ ६० वर्ष उमेर काटेका उनले स्थानीय लोकल कालीमार्सी धानबाली लगाएका थिए । यसअघि धानमा रोग लागेर नष्ट भएको थाहा नभएको उनको भनाइ छ । उनले भने, ‘यो भएको पहिलो घटना हो, के कसरी भयो ? हामी किसान अनभिज्ञ छौँ ।’ तातोपानी गाउँपालिका वडा नं ४, ५, ६ र चन्दननाथ–९ का सयौँ किसान अहिले पीडित भएका छन् । निकट भविष्यमा खाद्य संकट निम्तिने र कसरी टार्ने चिन्तामा रहेको उनीहरूको भनाइ छ । तातोपानीको सबैभन्दा धेरै लाम्रा, नगर, एैरेनी हाँक, हियाँ खोला ज्युलोमा बलास्ट रोगले धानबाली नष्ट भएको छ । 

ब्लास्ट रोगले क्षति गरेको धानबाली लगाएको ज्युलोमा कृषिविज्ञसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । नेट ब्लास्ट रोगका कारण धानबाली सखाप भएपछि तातोपानीका किसानले अप्रत्याशित रूपमा ठूलो क्षति व्यहोर्नुपरेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । उनले भने, ‘पालिकाबाट राहत दिएर सम्भव छैन । दिन पनि सकिँदैन । जिल्ला विपद् व्यवस्थापनको बैठक बसेर, कार्यपालिका बैठक राखी किसानको राहत र पुनस्र्थापनाका लागि पहल गर्छौँ ।’

जुम्लामा बर्सेनि कुनै न कुनै क्षेत्रको मार्सी धानमा ब्लास्ट रोग लाग्ने गरेको कृषिविज्ञ बताउँछन् । यो वातावरणीय प्रभावका कारणले फैलिने प्रकोप हो । ब्लास्ट रोगबारे जुम्लाका सबै किसान जानकार पनि छन् । धानमा लाग्ने ब्लास्ट रोग तीन प्रकारका हुन्छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा भने ‘एउटा लिप ब्लास्ट (पातमा) हुने संक्रमण नियन्त्रणमा लिन सकिन्छ । दोस्रो फिंगर ब्लास्ट (धानको डाँठमा) लाग्ने रोगलाई पनि नियन्त्रण गर्न सकिन्छ । तेस्रो ब्लास्ट रोग भनेको नेक ब्लास्ट (घाँटी मरुवा) अर्थात् धानको बालामै लाग्ने रोग हो । यसले बाला पोटिलो नहुने, धानमा दूध नभरिँदै झर्ने समस्या हुन्छ । यो अन्तिम अवस्थामा लाग्ने रोग भएकाले पनि नियन्त्रणमा समस्या छ ।’