नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा गरिएको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ।
अध्यक्ष केपी ओलीले वक्तव्य प्रकाशित गरी घटनामा परी निधन हुनेहरूप्रति श्रद्धाञ्जलीका साथै समस्त आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन्।
‘यस आक्रमणमा नेपालीहरूको पनि ज्यान जानुका साथै ठूलो संख्यामा घाइते भएको समाचार आइरहेका र कैयौँ अप्ठ्यारो परिस्थितिमा परेको सूचना आइरहेकाे उल्लेख गर्दै अध्यक्ष ओलीले वक्तव्यमा भनेका छन्, ‘हामी यस घटनाबाट ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न जानुभएका विभिन्न विश्वविद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुःखी छौँ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दसैँको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु। हामी सबै शोकमा छौँ। म सबैमा धैर्यधारण गर्न आग्रह गर्दछु।’
अध्यक्ष ओलीले घटनामा परी घाइते हुनेहरूको तत्काल उपचार,अप्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि नेपाल सरकारसमक्ष पुनः जोडदार माग गरेका छन्।
वक्तव्यमा निर्दोष नागरिक, वृद्धवृद्धा र बालबालिकाको हत्या र अपहरणजस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन, बरु थप बढाउन मद्दत गर्छ भन्ने पार्टीको ठम्याइ रहेको उल्लेख गरिएको छ।