बागलुङको ताराखोलामा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । बिहीबार दिउँसो करिब ४ः५० बजेको समयमा गलकोटको हटियादेखि ताराखोला जाँदै गएको ग.१ज ६५४० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार सातजना घाइते भएका हुन् । जिप ताराखोला गाउँपालिका– ३ मन्यौला भन्ने ठाउँमा सडकदेखि अन्दाजी २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
घाइते हुनेमा ताराखोला गाउँपालिका– ५ चरौदीकुनाका १८ वर्षीय मिलन सापकोटा, ताराखोला– ४ दर्लमचौरका ४१ वर्षीया कमला खत्री, ताराखोला– २ अर्गलका ७० वर्षीय भीमबहादुर रोका, ताराखोला– ५ दकदकेका ३६ वर्षीय रवि परियार, १८ वर्षीया सुशीला परियार र ६१ वर्षीया शिवकुमारी खत्री रहेका प्रनाउ केसीले जानकारी दिए ।
जिपका चालक ४६ वर्षीय चित्रबहादुर रोका भने सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरू सबै बोल्न सक्ने र हातखुट्टामा चोट लागेको र सबैको अवस्था सामान्य रहेको बताइएको छ । घाइते सबैको गलकोट हरिचौरमा रहेको गलकोट नगर अस्पतालमा उपचारका भइरहेको प्रहरीले जनाएको छ ।
उकालो सडकमा जिपको ब्रेक फेल भएपश्चात् जिप पछाडि सर्न खोज्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।