१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

युएईका राष्ट्रपतिसमक्ष राजदूत क्षेत्रीले बुझाए ओहदाको प्रमाणपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o१:oo

संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो ओहदाको प्रमाणपत्र युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसमक्ष पेस गरेका छन्।

क्षेत्रीलाई ११ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा युएईका लागि गैरआवासीय राजदूत नियुक्त गरेका थिए। नियुक्तिको एक महिनापछि ११ असोजमा कार्यभार सम्हाल्न अबुधाबी पुगेका क्षेत्रीले बुधबार राष्ट्रपति कार्यालय कसर अल वाटनमा आयोजित विशेष समारोहमा राष्ट्रपति नाह्यानसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

कार्यक्रममा राष्ट्रपति नाह्यानका साथै उपराष्ट्रपति, उपप्रधानमन्त्री, राष्ट्रपतीय अदालतका अध्यक्ष, मन्त्रीहरू, विदेश मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो।

ओहदाको प्रस्तुतिपछि राजदूत क्षेत्रीले राष्ट्रपति नाह्यानलाई समकक्षी नेपालका राष्ट्रपति पौडेलको शुभकामना सन्देश सुनाएका थिए। शुभकामना सन्देशमा पौडेलले राष्ट्रपति नाह्यानको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै युएईको निरन्तर शान्ति, उन्नति र समृद्धिको कामना गरेका छन्।

राजदूत क्षेत्रीले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मित्र राष्ट्रबीच कायम रहेको द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्थाबारे प्रकाश पार्दै नेपाली नागरिकका लागि युएई सबैभन्दा आकर्षक गन्तव्य भएको बताए। नेपालीलाई विश्वास गरेर रोजगारीमा सम्मानजनक व्यवहार गरिएकोमा उनले युएई सरकारलाई धन्यवाद दिए। नेपाल र युएईबीच धेरै क्षेत्रमा मिलेर काम गर्ने सम्भावना रहेको उल्लेख गर्दै राजदूत क्षेत्रीले इमिरेटी जनता र सम्पूर्ण मानवताको हितका लागि राष्ट्रपतिको दूरदर्शी नेतृत्वको प्रशंसा पनि गरे।

राष्ट्रपति नाह्यानले युएईका लागि नेपालको राजदूतका रूपमा क्षेत्रीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे। नेपाली समकक्षी पौडेलको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै नेपालका मित्रजनको उत्तरोत्तर प्रगतिको कामना गरे। युएईका राष्ट्रपति नाह्यानले द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा थप मजबुत हुनुपर्नेमा जोड दिए।

यसअघि राजदूत क्षेत्रीले १५ असोजमा युएईको परराष्ट्र मन्त्रालयमा प्रोटोकल मामिलाका सहायक उपसचिव सैफ अब्दुल्ला अलसमिसीलाई आफ्नो ओहदाको प्रतिलिपि बुझाएका थिए। १६ गते छुट्टै कार्यक्रममा राजदूत क्षेत्रीले नेपाली राष्ट्रिय गानका साथ गार्ड अफ अनर ग्रहण गरेका थिए। साथै, अबुधाबीको कसर अल वाटनमा भएको झन्डा फहराउने समारोहमा सहभागी भएको नेपाली दूतावासले जनाएको छ।