
सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ।
आर्थिक वर्ष ०८०/८१ को नियमित रूपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए।
उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ। दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाख महिनामा गर्ने गरिएको छ।
भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ।
सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि ०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र ०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।
सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।