
एनआइसी एसिया क्यापिटलले नेसनल सोलार पावर कम्पनी लिमिटेडलाई स्थापनाकालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउने सेवा ‘आइडिया टु आइपिओ’ दिने भएको छ । यो सेवा प्रदान गर्नका लागि क्यापिटल र सोलार पावर कम्पनीबीच सम्झौता भएको हो ।
उक्त सेवाअन्तर्गत ललितपुरको जावलाखेलमा रजिस्ट्रार कार्यालय रहेको नेसनल सोलार पावर कम्पनीलाई संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गर्ने प्राथमिक सेयर सार्वजनिक निष्कासन गर्ने क्यापिटलले जनाएको छ । जसअनुसार क्यापिटलाई निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको उल्लेख छ ।
नेसनल सोलार पावर कम्पनी लिमिटेड सौर्य ऊर्जामार्फत ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी रहेको जनाइएको छ । हाल कम्पनीले नवलपरासीको प्रतापपुरमा पाँच मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्षदेखि सञ्चालन गरिरहेको जनाएको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका सात लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना रहेको जनाइएको छ । साथै, कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना सञ्चालन गर्न आवश्यक सम्पूर्ण कार्य अन्तिम चरणमा पुर्याएको जनाएको छ ।