मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Thursday, 19 December, 2024
दीपक भट्ट रामेछाप
२o८o असोज १४ आइतबार १७:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनकोशी–सित्खा लिफ्ट सिँचाइ आयोजना ६ वर्षदेखि अलपत्र

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार १७:३३:oo

बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सित्खा फाँटमा निर्माणाधीन सुनकोशी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा फाँटमा सिँचाइ पुर्‍याउने उद्देश्यले आयोजना अघि बढाइएको थियो। २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी उदयपुरको राम्चे सिद्धगढी निर्माण सेवासँग २०७५ असार २९ मा एक करोड २९ लाख २ हजार ४ सय ४८ रुपैयाँमा सम्झौता भएको थियो।

सम्झौताअनुसार निर्माण व्यवसायीले हालसम्म करिब ६५ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन्। निर्माण व्यवसायीले सिँचाइ विकास डिभिजन कार्यालयमार्फत ८३ लाख १७ हजार ४ सय ३३ रुपैयाँ भुक्तानीसमेत लगेर आयोजनाको अरू बाँकी काम बिचमै अलपत्र अवस्थामा छाडेका हुन्। 

भिरपानीस्थित सित्खामा रहेको हजारौँ रोपनी जमिन पानी नभएकै कारण त्यहाँका किसानहरूले खेती गर्न सकेका छैनन्। समथर फाँटको तलबाट सुनकोशी नदी बगिरहेको भए पनि उक्त पानी त्यहाँका किसानहरूले फाँटमा लान सकेका छैनन्।

स्थानीयको मागको आधारमा प्रदेश सरकारले दिएको बजेटबाट उक्त आयोजना पूरा होला र फाँटमा बाह्रै महिना खेती गरौँला भन्ने किसानहरूको इच्छा अधुरै रहेको खाँडादेवी– ३ सित्खाका गणेश माझीले गुनासो गरे। सिँचाइ अभावका कारण स्थानीय धान, गहुँ, मकै लगाउनुको सट्टा जमिन बाँझै छोड्न विवश छन्। आयोजना निर्माणस्थल नजिकै पानी संकलनका लागि बनाइएका कृत्रिम पोखरी पनि पानी नभएर सुकेका छन्। नदीबाट पोखरीसम्म पुर्‍याइएका पाइपलाइन पनि बिग्रिएर अलपत्र  अवस्थामा छन्।

आयोजना निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायी सम्पर्कमा नआएपछि पटक-पटक जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमा पुगेर आयोजना छिटो निर्माण गरिदिन अनुरोध गरे पनि कार्यालयले चासो नदिएको स्थानीय कृष्णबहादुर केसीले बताए।

‘निर्माण व्यवसायीले धमाधम काम गरेको भए सम्झौताअनुसार नै काम सम्पन्न हुने थियो। तर, कामको जिम्मेवारी लिएका ठेकेदारले कहिले काम गरेजस्तो गर्ने, कहिले आलटाल गर्ने गर्दा यो आयोजना बिचमै अलपत्र बन्न पुग्यो,’ उनले भने, ‘निर्माण भएका काम पनि अहिले त सबै भत्किसके। नदीबाट ल्याएको पाइप सबै टुक्राटुक्रा भएका छन्। पानी जम्मा गर्न बनाइएको पोखरी सबै फुटेर काम नै नलाग्ने गरी चिराचिरा भएका छन्। आयोजना यस्तो हुँदासमेत सरोकारवाला कुनै निकायले पनि चासो दिएका छैनन्।’

आयोजनाको काम गर्ने जिम्मेवारी लिएका निर्माण व्यवसायीले काम गर्दागर्दै बिचमा छाडेर हिँडेपछि पटक-पटक पत्राचार गर्दासमेत व्यवसायी सम्पर्कमा नआएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन रामेछापका इन्जिनियर दिवाकर मण्डलले जानकारी दिए। उनले भने, ‘सम्झौताबमोजिम बाँकी काम गर्नका लागि बारम्बार पत्राचार गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा नआएकाले ठेक्का सम्झौता रद्द गरी २०७७ कात्तिक २६ मा सार्वजनिक खरिद एकाइको कालोसूचीमा निर्माण कम्पनीलाई राखिएको छ।’

कार्यालयसँग सम्पर्कमै नआएका निर्माण व्यवसायीले आफ्नो फर्म कालोसूचीमा परेको थाहा पाएपछि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका छन्। सो मुद्दा अहिले पनि विचाराधीन अवस्थामा रहेकाले सुनकोशी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम झनै अन्योल बन्न पुगेको छ।