मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Thursday, 19 December, 2024
रासस वीरगन्ज
२o८o असोज १४ आइतबार १२:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महसुल नबुझाउने १८ सयभन्दा बढी ग्राहक कालोसूचीमा

Read Time : < 1 मिनेट
रासस, वीरगन्ज
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार १२:२३:oo

लामो समयदेखि विद्युत् महसुल नबुझाउने एक हजार आठ सय २३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ।

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाइएको हो। कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ।

टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताए। कालोसूचीमा रहेका ग्राहकबाट रु. सात करोड ६५ लाख ५६ हजार सात सय ६३ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ।

लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा–बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युतकाे उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष ०७९/८० मा विद्युत् चुहावट ०.५ प्रतिशतले बढेको छ।

गत आव ०७८/७९ मा विद्युत् चुहावट ४.९८ प्रतिशत रहेकामा आव ०७९/८० मा ५.०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिए। उनका अनुसार आव ०७९/८० मा विद्युत् महसुल नबुझाउने दुई हजार चार सय ६८ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार नौ सय ६ ग्राहकबाट रु. ११ करोड ४० लाख ७२ हजार ६ सय १५ बाँकी बक्यौता रकम असुली भएको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जका इन्जिनियर निर्मला फौजदारले बताइन्।

त्यस्तै, सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत रु. १२ लाख २४ हजार सात सय २४ राजस्व संकलन भएको इन्जिनियर फौजदारले जानकारी दिइन्। आव ०७९/८० मा दुई हजार चार सय ४२ नयाँ ग्राहक थपिएका छन्। योसँगै वीरगन्ज क्षेत्रमा ग्राहकको संख्या ५४ हजार दुई सय तीन पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले जनाएको छ।