१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

श्री र फिस्टेलका ‘एएस३५०’ हेलिकोप्टर उडानमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१६:oo

सोलुखुम्बुको खुम्बु क्षेत्रमा खराब मौसमको समयमा पनि उडान गरेर हवाई सुरक्षामा खेलबाड गरेको भन्दै नियमनकारी निकायले दुई हेलिकोप्टर कम्पनीको उडानमा रोक लगाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री र फिस्टेल एयरका ‘एएस३५० बी३ई’ हेलिकोप्टर उडाउन रोक लगाएको हो ।

दुवै हेलिकोप्टर कम्पनीले भिजुअल फ्लाइट रुल्स (भिएफअर) उडानको नियम उल्लंघन गरेको क्यानले ठहर गरेको छ । लुक्लाभन्दा माथि रहेको एउटा हेलिप्याडबाट कुहिरोले ढाकेकै अवस्थामा हेलिकोप्टर उडान गरेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘वरिपरि कुहिरोले ढाकिरहेका वेलामा हेलिकोप्टर हेलिप्याडबाट टेकअफ गरेछन्, उड्न नसकेर ल्यान्ड गरेछन् र फेरि टेकअफ गरेछन्,’ उनले भने, ‘यो घटना अलि दिनअघिको हो, तर अहिले प्रमाणसहित रिपोर्ट आएपछि बिहीबारदेखि नै एएस३५० सिरिजका हेलिकोप्टर उडानमा रोक लगाएका हौँ ।’

भिएफआर उडान नियमअनुसार हेलिकोप्टरका लागि कम्तीमा १५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, श्री र फिस्टेल एयरका हेलिकोप्टर उडान गर्दा सय मिटर पनि भिजिबिलिटी नरहेको क्यानको जिकिर छ । ‘यो गम्भीर प्रकृतिको लापरबाही हो, अर्को निर्णय नहुन्जेल दुवै कम्पनीका एएस३५० हेलिकोप्टर ग्राउन्डेड गरिएको छ,’ भुलले भने, ‘अब हामीले थप अनुसन्धान गरेर थप निर्णयमा पुग्नेछौँ ।’ क्यानले हवाई सुरक्षामा खेलबाड गर्ने वायुसेवा कम्पनी, पाइलट, क्रु मेम्बर, एटिसीलगायतलाई कारबाही गर्दै आएको छ ।