
भारतीय मूलका एक क्यानडाली शिखको हत्यालाई लिएर भारत र क्यानडाबीच जारी तनावले भारतको पन्जाब निवासी शिख समुदाय चिन्तित बनेका छन् । भारतीय मूलका क्यानडाली शिख हरदीपसिंह निज्जरको हत्यापछि केही शिखहरू भारतको हिन्दू–राष्ट्रवादी सरकारको कदम र क्यानडामा उनीहरूको जीवनलाई लिएर चिन्तित बनेका रोयटर्सले जनाएको हो ।
निज्जरलाई जुनमा भ्यानकुभर उपनगरको एउटा मन्दिरबाहिर गोली हानी हत्या गरिएको थियो । उनी त्यहाँ बस्ने धेरै शिखहरूबीचमा पृथकतावादी नेता थिए । आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वाराबाहिर गोली हानी हत्या गरिएको थियो । पेसाले प्लम्बर उनलाई क्यानडाले सन् २००७ मा नागरिकता दिएको थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ ।
हत्यामा भारतीय कूटनीतिज्ञ एवं जासुसको संलग्नता रहेको क्यानडा ब्रोडकास्टिङ कर्पोरेसनले सार्वजनिक गरेको थियो । क्यानडाको संसद्मा प्रधानमन्त्री ट्रुडोले आफ्नो देशको राष्ट्रिय सुरक्षा अधिकारीले निज्जरको हत्यामा भारत सरकारका ‘एजेन्ट’ संलग्न रहेको विश्वसनीय प्रमाण रहेको दाबी गरेका थिए ।
क्यानडाका प्रधानमन्त्रीले लगाएको आरोपलाई भारतले अस्वीकार गर्दै उनको भनाइमा सत्यता नभएको बताउँदै आएको छ । सोही विषयलाई लिएर दुवै देशले एक–अर्को देशका कूटनीतिज्ञलाई देश निकाला गरेका छन् भने भारतले क्यानडाका नागरिकलाई भिसा रोकिदिएको छ । भारतको अध्यागमन कार्यालयका अनुसार गत वर्ष दुई लाख ७७ हजार क्यानडाका पर्यटकले भारत भ्रमण गरेका थिए ।
भारतको करिब एक अर्ब ४० करोड जनसंख्याको दुई प्रतिशत मात्र शिख छन् । तिनीहरूमध्ये अधिकांश पन्जाबमा छन् । पन्जाबबाहिर शिखहरूको सबैभन्दा ठूलो संख्या क्यानडामा बसोवास गर्छ ।