
बंगलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार सात सय २५ जनामा डेंगुको संक्रमण देखिएकोमा नाै सयभन्दा बढीको मृत्यु भएको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा तीन सय १६, अगस्टमा तीन सय ४२ र जुलाईमा दुई सय चार गरी कुल नाै सय नाैजना डेंगु संक्रमित बिरामीको मृत्यु भएको हो ।
महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार नाै सय १७, अगस्टमा ७१ हजार नाै सय ७६ र जुलाईमा ४३ हजार आठ सय ५४ जनामा डेगु संक्रमण पुष्टि भएको छ ।
यहाँको स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार आठजनामा डेंगुको संक्रमण देखिएको छ ।
यस वर्ष हालसम्म निको हुनेको संख्य एक लाख ७६ हजार तीन सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बंगलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेंगु ज्वरोको मौसम हो ।