
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकम हालसम्म नपाएको भन्दै दुःख व्यक्त गरेका छन् । १९औँ एसियन खेलकुद प्रतियोगितामा भाग लिन चीन जानुअघि बिदाई कार्यक्रममा रोहितले सरकारले घोषणा गरेको रकम अझै प्राप्त नगरेको बताएका हुन् ।
उनले पुरस्कार पाउनेमा आशावादी रहेको बताए । ‘हामी अझै आशावादी छौँ । घोषित पुरस्कार आएको छैन । चाँडै प्राप्त होस्,’ रोहितले भने । यसअघि एसियाडमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पुरस्कार रकम केही दिनमै उपलब्ध हुने बताएका थिए । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को बैठकबाट पुरस्कार दिन स्वीकृत भएको २८ भदौमा बताएका हुन् । तर, एक साता बितिसक्दा पनि पुरस्कार खेलाडीको खातामा आएको छैन ।
खेलाडीको बिदाइ
नेपाल क्रिकेट संघ (क्यान)को नवनिर्वाचित पदाधिकारीले एसियाडमा जाने टोलीको आइतबार बिदाइ गरेका छन् । शनिबार सर्वसम्मत भएका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का तथा निर्वाचित सचिव पारस खड्कालगायतले खेलाडीलाई बिदाइ गरेका थिए । नेपालले १० असोजमा मंगोलिया र १४ असोजमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गर्न सके क्वार्टरफाइनलमा स्थान बनाउनेछ, जहाँ टेस्ट राष्ट्रसँग खेल्नुपर्नेछ ।
रोहितको कप्तानीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी छन् । घाइते भएपछि ललित राजवंशीको ठाउँमा सागरले स्थान बनाएका हुन् । १३ टिमले भाग लिने पुरुष क्रिकेट टी–२० फम्र्याटमा हुनेछ ।
पदक जित्ने लक्ष्य
कप्तान रोहितले तयारी राम्रो भएको बताउँदै पदक जित्ने लक्ष्य राखेको बताएका छन् । एसिया कपमा पाकिस्तान र भारतसँग खेलेर उच्च मनोबल बनाएको नेपाली टोलीले समूहमा कमजोर प्रतिद्वन्द्वीविरुद्ध खेल्दै छ । कप्तान रोहितले ठूलो टोलीको चुनौती पार गर्दै पदक जित्ने आशा गरे । ‘तयारी राम्रो भएको छ ।
पदक जित्ने हाम्रो मुख्य लक्ष्य हो,’ रोहितले भने, ‘प्रतिद्वन्द्वी जस्तोसुकै भए पनि हामीले आफ्नो खेल खेल्नुपर्छ ।’ रोहितले नोभेम्बरमा हुने टी–२० अघि यो खेल निकै महत्वपूर्ण हुने बताए । ‘पछिल्लो समय हामीले एकदिवसीय खेल खेल्दै आएका छौँ । अब केही प्रतियोगिता टी–२० फम्र्याटमा हुनेछन् । त्यसका लागि पनि यो प्रतियोगिता हामीलाई महत्वपूर्ण छ,’ रोहितले थपे ।